राजनीति

‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सुशासन समितको निर्देशन

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले नेपालको औपचारिक नामका सम्वन्धमा मन्त्रिपरिषद्को पछिल्लो निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देश गरेको छ।          

सरकारको निर्णयबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग जानकारी लिएपछि समितिको आजको बैठकले उक्त निर्देशन दिएको हो। बैठकपछि कुरा गर्दै सभापति शशी श्रेष्ठले भनिन्, “सरकारको पछिल्लो निर्णयले अन्यौलता, अविश्वास, आशङ्का उत्पन्न गरेको हुँदा ‘नेपाल’ मात्रै लेख्न पर्ने आवश्यकता र औचित्यताको पुष्टि नहुन्जेल उक्त निर्णय कार्यान्वयन नगर्नुस् भनिएको हो।”      

सो अवसरमा मन्त्री ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको स्पष्ट पारेका थिए। उनले      भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभई हामीले अवलम्बन गरेको शासन प्रणाली हो। नेपालको औपचारिक नाम नेपाल नै हो, यसमा कुनै विशेषण जोड्न जरुरी छैन।”      

यसअघि बैठकमा सदस्यहरुले उक्त निर्णयलाई पुरानो राजनीतिक प्रणालीका पक्षधरले हौसल्लापूर्णरुपमा स्वागत र समर्थन गर्नुले गणतन्त्रका लागि बलिदान दिने निराश हुनु पर्ने हो कि भन्ने आशङ्का पैदा गरेकाले सो निर्णय कार्यान्वयन नगर्न सल्लाह दिनु उचित हुने सुझाव दिएका थिए।          

राजनीतिक दलहरुबीच अविश्वास बढी रहेकै बेला सरकारबाट भएको उक्त निर्णयले आमजनतामा संशय उत्पन्न गरेको उनीहरुको भनाइ थियो। मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले नेपालको औपचारिक नाम नेपाल मात्र लेख्ने निर्णय गरेपछि समितिले त्यसबारे परराष्ट्रमन्त्रीसगँ जानकारी माग गरको हो। रासस          

 

 

प्रकाशित: २४ कार्तिक २०७७ १७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App