राजनीति

नख्खु जेल ‘ब्रेक’ गर्ने पूर्वसांसद वीरबहादुर लामाको निधन

मकवानपुरका पुराना कम्युनिष्ट नेता तथा नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का ‘ब्रेकर’का रुपमा पनि चिनिने पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ। तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रह्का लामाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि अस्पताल भर्ना भएका थिए। उनको आज बिहान निधन भएको लामाकी छोरी श्रमिक लामाले जानकारी दिइन्।

विसं २०४९ मा मकवानपुर जिविसका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। विसं २०३३ मा लामासहित सिपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायत १५ जना कम्युनिष्ट नेताहरु नख्खु जेलबाट सुरुङ खनेर भाग्न सफल भएका थिए। विसं २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसद्को सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए। 

लामा जिविस मकवानपुरका सभापति भएपछि उनकै पहलमा काठमाडौँलाई तराईसँग जोड्न मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो। मदन भण्डारी मार्गका रुपमा चिनिने उक्त मार्गबाट अहिले दैनिक सयौँ सवारी आवतजावत गर्ने गर्छन्।

उत्तरी मकवानपुरको फाखेलका स्थायी बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ। जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र तीव्र विवाद भएपछि अशोक राईको नेतृत्वमा लामासहित नेताले तत्कालीन नेकपा एमाले परित्याग गरेका थिए। रासस

प्रकाशित: २३ कार्तिक २०७७ ०७:२५ आइतबार

नख्खु जेल सुरुङ काण्ड वीरबहादुर लामा