राजनीति

भारतीय स्थल सेनाध्यक्ष स्वदेश फर्किए

राष्ट्रपति विद्यादेवि भण्डारीबाट नेपाली सेनाको मानार्थ लज्र्यानी ग्रहण गर्दै भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे। तस्बिर सौजन्य: नेपाली सेना

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्माले बिदाइ गरे।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा बुधबार नेपाल आएका उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मानित गरेकी थिइन्। बिहीबार नै उनको सम्मानमा प्रधानसेनापति थापाले जंगी अड्डामा रात्रिभोज आयोजना गरेका थिए। जंगी अड्डामा बिहीबार भएको औपचारिक भेटवार्तामा दुई प्रधानसेनापतिबीच आपसी सुरक्षा चासोका विषयमा पनि छलफल भएको थियो।

त्यस्तै उनीहरूबीच दुई देशका सेनाबीच उच्चस्तरीय भ्रमण, तालिमलगायत अन्य सहयोगका क्षेत्रमा थप विस्तार गर्ने विषयमा समेत कुराकानी भएको थियो। बुधबार उनले प्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए। बुधबार बिहान उनले नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ तालिमरत शिक्षार्थीलाई सम्बोधन गर्दै आफ्नो लामो सैनिक सेवाबाट प्राप्त अनुभवबारे बताएका थिए।

प्रकाशित: २२ कार्तिक २०७७ ०३:०९ शनिबार

भारतीय स्थल सेनाध्यक्ष नेपालकोऔपचारिक भ्रमण