राजनीति

सुकेटारमा दैनिक ५ उडानका लागि तयार रहन मन्त्री भट्टराईको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलमा दैनिक करिव ५ वटासम्म नियमित उडानका लागि तयार रहन विमानस्थलमा खटिएका कर्मचारीलाई भनेका छन्।  

शुक्रबार बिहान गृह जिल्ला ताप्लेजुङ आइपुगेका मन्त्री भट्टराइले सुकेटारस्थित नागरिक उड्डयन प्राधिकरणका कर्मचारीलाई त्यो अवस्थाको तयारीका लागि भनेका हुन्। ‘कमसेकम पनि दैनिक ४–५ फ्लाइट हुने गरी तयारी हालतमा बस्नु पर्‍यो’ मन्त्री भट्टराईले नागरिक उड्डयन कार्यालय सुकेटारका प्रवन्धक सूर्यबहादुर खत्रीमार्फत सुकेटार विमानस्थलमा खटिएका कर्मचारीलाई भने।  

हेलिकोप्टर उडान र अवतरण बाहेक जहाजको मात्र दैनिक ४–५ उडान हुने अवस्थामा पनि तयार रहन मन्त्री भट्टराइको निर्देशन थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजनकुमार पोखरेलका साथ आएका मन्त्री भट्टराईले सुकेटार विमानस्थल अब व्यस्त विमानस्थलको रुपमा रहने संकेत गरे। अहिले भने नेपाल वायु सेवा निगमले प्रत्येक साताको बुधबार र शनिबार काठमाडौ–ताप्लेजुङ–काठमाडौं तथा सीता एयरले प्रत्येक सोमबार र शुक्रबार काठमाडौ–ताप्लेजुङ–काठमाडौ गरी सातामा ४ उडान मात्र हुँदै आएको छ। मन्त्री भट्टराइले केहि समयपछि नै नेपाल वायु सेवा निगमले दैनिक काठमाडौ–ताप्लेजुङ–काठमाडौ र बिराटनगर–ताप्लजुङ–बिराटनगरको हवाइ उडानको तयारी भइरहेको जानकारी दिए।  

सीता एयरले पनि भद्रपुर–ताप्लेजुङ–भद्रपुरको उडान तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ। उसले काठमाडौ–ताप्लेजुङ–काठमाडौको उडान संख्या पनि थप गर्ने तयारी गरिरहेका बेला मन्त्री भट्टराइले दैनिक ५ वटासम्म उडान हुने देखेका छन्। ‘अब त्यो दिशामा विमानस्थल टीमले तयारी गर्नुपर्‍यो’ मन्त्री भट्टराईले भने।

प्रकाशित: २१ कार्तिक २०७७ ०७:५५ शुक्रबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय योगेशकुमार भट्टराई सुकेटार विमानस्थल