राजनीति

भारतीय सेना प्रमुख नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

राष्ट्रपति  विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी छिन्। राष्ट्रपति भण्डारीले बिहीबार शीतल निवासमा एक विशेष कार्यक्रमबीच  सेना प्रमुख नरवणेलाई मानार्थ महारथी दर्जा प्रदान गरेकी हुन्।  

नेपाली सेना र भारतीय सेनाले एकअर्काका प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने चलन छ। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले दुई वर्षपहिले भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाएका थिए।  

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारीहरुसमेत उपस्थित रहेका थिए।  

कार्यक्रम पछि जनरल नरवणेले नेपालका राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका छन्।  उक्त भेटवार्तामा राजदूत क्वात्राको पनि सहभागि भएका थिए।  

राष्ट्रपतिसँगको भेटका क्रममा जनरल नरवणेले आफूलाई दिइएको उक्त सम्मान प्रति विशेष आभार प्रकट गर्दै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउबारे समेत छलफल गरेका थिए।  

प्रकाशित: २० कार्तिक २०७७ ११:५१ बिहीबार