राजनीति

मधेश केन्द्रित दलले मधेसीलाई धोका दिएः कांग्रेस नेता रिजाल

पर्सामा आयोजित नेपाली कांग्रेसको कार्यक्रम । तस्विरः नागरिक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले मधेश केन्द्रित दलले मधेशी जनतालाई धोका दिएको आरोप लगाएका छन्। पर्साको पकहामैनपुर गाउँपालिका–५ सवैठवामा बुधबार आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेता रिजालले यस्तो बताए।  

मधेशी दलले गरेको आन्दोलनमा ज्यान गुमाउनलाई ५० लाख रुपैयाँ दिने भन्दै जनतालाई उचालेर ज्यान दिन बाध्य बनाउनेहरु भोट मात्रै लिने काम गरेको र यहाँका जनताका आधारभुत समस्याहरुलाई वास्ता नगरेको उनको आरोप थियो। ‘सहिद परिवारको सम्मानको नाममा भैंसी दिएर जिम्मेवारी पुरा भयो भनी ठानिएको छ, मधेश आन्दोलनका घाइतेहरुको उचित व्यवस्थापन हुन सकेको छैन,’ नेता रिजालले भने, ‘जनता अब सचेत हुने आइसेको छ।’ राजनीति भनेको आम जनताको जीवनस्तर उकास्न, समृद्धि र शान्तिको प्रत्याभुति गराउनका लागि हुनुपर्ने उनको तर्क थियो।  

कार्यक्रममा नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य अजय चौरसियाले बर्तमान अवस्थामा स्थानीय तह, प्रदेश सरकार र संघीय सरिकार भ्रष्टाचारको प्रकोपमा परेकोले जनताले आपेक्षा गरेअनुरुप अवस्था बन्न नसकेको बताए। सत्तारुढ दलले गाउँदेखि केन्द्रसम्म नै अनियमितताको दलदलमा परेकोले आगामी निर्वाचनमा जनताले मजबुत विकल्प खोजेको दावी गरे। उक्त मञ्चबाट संघीय समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष नरसुल्लाह मियाँको नेतृत्वमा दर्जनौं ब्यक्तिहरुले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। 

नरसुल्लाह गत निर्वाचनमा प्रदेशसभा सदस्यका उम्मेदवार रहेका थिए। नवप्रवेसीहरुलाई कांगेस नेताहरुले फुलमाला अविर लगाई पार्टीमा स्वागत गरेका थिए। बलिराम चौरसियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका पर्सा सभापति अजय द्विवेदी, प्रदेश सांसद शंकर चौधरी नेता बशिष्ट नारायण कुर्मी लगायत उपस्थित थिए।

प्रकाशित: १९ कार्तिक २०७७ १३:४० बुधबार

मधेश केन्द्रित दल मधेशी जनता धोका आरोप