राजनीति

१६ नागरिक अगुवाकाे अपिल : सरकार ! अविलम्ब माग पूरा गरी डा. केसीलाई बचाऊ

डा. केसी

नागरिक अगुवा, लेखक एवं अधिकारकर्मीहरूले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।  

डा.पिताम्बर शर्मा, डा. कैलाशनाथ प्याकुरेल, डा. अरुणा उप्रेती, नारायण ढकाल, विमल निभा, डा. सुरेश ढकाल, डा. सरोज धिताल, सरिता तिवारी, धनकुमारी सुनार, कोमल भट्टराई, सुदीप श्रेष्ठ, सोमत घिमिरे, प्रकाश राई र हरि रोकाले मंगलबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै डा. केसीका मागप्रति  ऐक्यबद्धता जाहेर गरेका हुन्। साथै उनीहरूले डा. केसीको जीवन रक्षा गर्न सरकारसँग जोडदार माग पनि गरेका छन्।  

‘विगत तीन हप्ताभन्दा बढी समयदेखि देशको चिकित्सा शिक्षा र स्वास्थ्य सेवासम्बन्धी मागहरू राखेर डा. गोविन्द केसी आमरण अनशनमा हुनुहुन्छ। यी मागहरू समाजवाद-उन्मुख लोककल्याणकारी राज्यको नारा दिएर सत्तासीन भएको दल र सरकारका लागि मार्गदर्शक र प्रेरणादायी हुने हामीले अपेक्षा राखेका थियौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तर विडम्बना ! डा. केसीका मागहरूप्रति सरकार पूर्णतः उदासीन रहेको छ। सरकारले यस किसिमको अकर्ममण्यता प्रदर्शन गरेर लोकतन्त्रमा रहनुपर्ने संवादको सस्कृति र आफ्नै चुनावी घोषणापत्रप्रतिसमेत बेइमानी गरेको हामीले ठानेका छौं।’  

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘डा. केसीका मागहरुलाई अविलम्ब सम्बोधन गर्न र उहाँको जीवन रक्षाका निम्ति आवश्यक पहल गर्न सरकारसँग हामी जोडदार अपिल गर्दछौं। साथै डा. केसीका जायज मागहरूप्रति हामी ऐक्यबद्धता जाहेर गर्दछौं।’ 

प्रकाशित: २० आश्विन २०७७ ०९:०७ मंगलबार

नागरिक अगुवा