राजनीति

नेताहरूमा संक्रमणपछि सर्‍यो कांग्रेस बैठक

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक असोज २५ गते बस्नेगरी स्थगित गरिएको छ। असोज १५ गते गरिएको पिसिआर परीक्षणका क्रममा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठलगायतका नेतामा कोरोना भाइरस संक्रमण देखिएपछि सोमबारका लागि र्निधारण गरिएको बैठक २५ गतेका लागि सारिएको हो।

काठमाडौंबाहिर परीक्षण गर्दा केन्द्रीय सदस्य रमेश रिजाल र अजयकुमार चौरसियामासमेतमा संक्रमण देखिएको छ। पार्टीको विभिन्न तहका नेताहरूमै संक्रमण देखिएपछि १४औं महाधिवेशनको तयारीसहितका आन्तरिक संगठनका विषयमा छलफलका गर्न बोलाइएको बैठक २५ गते २ बजे बस्नेगरी सारिएको केन्द्रीय कार्यालयले जनाएको छ।

पार्टीभित्रको विवाद समाधान गर्न सभापति शेरबहादुर देउवाले शनिबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेका थिए। बैठकमा सहभागी नेताहरूमै संक्रमण देखिएपछि अन्य नेताहरूसमेत उच्चसर्तकताका साथ घरमै बसेको निकटहरूले जनाएका छन्। संक्रमणको अवस्था हेरेर असोज २५ का लागि सारिएको बैठक पनि हेरफेर हुनसक्ने जनाउँदै एक नेताले भने, ‘पहिला सबैले ज्यान जोगाउनु प-यो। त्यसपछि मात्र अन्य गतिविधि गर्ने हो।’

फागुन ७ देखि काठमाडौंमा महाधिवेशन गर्नेगरी पूर्वर्निधारित कार्यतालीका पूरै प्रभावित बनेको छ। जसले गर्दा कांग्रेस महाधिवेशन अनिश्चित बन्दै गएका बेला नेता रामचन्द्र पौडेलसहितका २७ नेताहरूले महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठाउँदै विरोधपत्र बुझाएका छन्। त्यसलाई सम्बोधन गर्न देउवाले शनिबार छलफल गरेका थिए। छलफल टुंगोमा नपुगेपछि आइतबारका लागि निर्धारण गरेको बैठक नेताहरूमा संक्रमण देखिएपछि स्थागित भएको थियो। कांग्रेसको केन्द्रीय कार्यालय पनि कोरोनाकै कारण असोज २२ सम्म बन्द हुने भएको छ।

प्रकाशित: २० आश्विन २०७७ ०२:५३ मंगलबार

नेताहरूमा संक्रमण कांग्रेस बैठक