राजनीति

अलमल्याउने र गलाउने देउवा–पौडेलको रणनीति

अनिश्चित बन्दै कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्ष पार्टीको १४औं महाधिवेशन सुनिश्चित गर्नेभन्दा एकले अर्कोलाई अलमल्याउने र गलाउने रणनीतिमा सक्रिय भएका छन् । फागुनका लागि तोकिएको महाधिवेशन नहुने निश्चित भए पनि पार्टीको महाधिवेशन कसरी गराउने भन्दा दुवै समूह एकले अर्कालाई गलाउने र थकाउने सक्रिय भएका हुन् ।

दुवै पक्ष फागुनमा महाधिवेशन हुँदैन भन्नेमा ढुक्क भए पनि त्यसको अपजस आफूमाथि लाग्ने भयले संस्थापन र इतर पक्ष अहिले पनि त्यसलाई पन्छाउने रणनीतिमा छन् । सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा महाधिवेशन नयाँ मितिसहितको कार्यतालिका पेस हुने धेरैको अड्कल गरेका छन् । तर, संस्थापन पक्ष महाधिवेशनको नयाँ कार्यतालिका बैठकमा पेस गर्ने पक्षमा नरहेको स्रोतको दाबी छ । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको तयारीका विषयमा अहिलेसम्म भएका कामको जानकारी गराउने छन् । ‘संस्थापन पक्षबाट महाधिवेशनको नयाँ मितिसहितको कार्यतालिका आउँदैन,’ निकट एक नेताले भने,‘ नयाँ प्रस्ताव ल्याउने कि नल्याउने रामचन्द्र पौडेल समूहमा भर पर्दछ ।’

फागुन ७ देखि काठमाडौंमा गर्ने भनिएको महाधिवेशन नहुने पक्का भए पनि त्यसको अपजस् आफूमाथि नपरोस् भनेर दुवै समूह महाधिवेशन सार्ने प्रस्ताव अघि सार्ने पक्षमा छैनन् । केही दिनअघि सभापति देउवा र नेता पौडेललाई भेटेका कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको १४औं महाधिवेशन फागुनमा हुनै नसक्ने दाबी गरे । महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता वितरणको काम अहिलेसम्म नभएको र सदस्यता छानबिन समितिसमेत गठन हुन नसकेको बताउँदै सिटौलाले भने, ‘फागुनमा नहुने महाधिवेशन उहाँहरु (शेरबहादुर देउवा र रामचन्द्र पौडेल) दुवैजना किन हुन्छ भनिरहनु भएको छ मैले बुझेको छैन ।’ अहिलेदेखि नै लाग्दा वैशाख वा जेठसम्म महाधिवेशन गर्न सकिने बताउँदै उनले भने, ‘जे कुरा हुँदैन त्यसमा देउवा र पौडेलको सहमति देखिन्छ ।’

कांग्रेसको फागुनमा सकिनुपर्ने समायोज अहिलेसम्म सकिएको छैन भने संशोधित कार्यतालिकाअनुसार भदौभित्र सबै जिल्लाबाट क्रियाशील सदस्यता नवीकरण र वितरण गरेर केन्द्रमा आइपुगिसक्नुपर्ने हो । तर, अधिकांश जिल्ला सदस्यता वितरण नै सुरु भएको छैन भने त्यसको छानबिनका लागि समितिसमेत गठन भएको छैन । कांग्रेस महाधिवेशनका लागि सबैभन्दा पेचिलो विषय नै सदस्यता वितरण हो ।

‘फागुनमा नहुने महाधिवेशन देउवा र पौडेल दवैजनाले किन हुन्छ भनिरहनु भएको छ मैले बुझेको छैन । अहिलेदेखि नै लाग्दा वैशाख वा जेठसम्म महाधिवेशन गर्न सकिन्छ । जे कुरा हुँदैन त्यसमा उहाँहरुको सहमति देखिन्छ ।’

संस्थापनइतर समूहले क्रियाशील सदस्यतासहित १४औं महाधिवेशन स्वच्छ, निष्पक्ष हुनेमा आशंका व्यक्त गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोधपत्र दर्ता गराएका छन् । नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका २७ केन्द्रीय सदस्यको हस्ताक्षसहितको विरोधपत्र दर्ता गराउँदै आफ्ना माग पूरा नभए विरोधका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।

पार्टी लोकतन्त्रबाट च्यूत गराएर सभापतिले भीडतन्त्रमा प्रवेश गराउँदा महाधिवेशनको पूर्वसन्ध्यामा संगठनमा एकता र विश्वास खलबलिन पुगेको उल्लेख गरेका छन् । त्यसका बदला अविश्वास, अनेकता र आशंकाको बादल मडारिएर संस्थापन र इतरपक्षका नाममा ध्रुवीकरणको स्थिति निम्तिएको जनाउँदै लोकतान्त्रिक प्रणाली र राष्ट्रप्रतिको जिम्मेदारी छायाँमा पर्ने अवस्था आउँदा पनि पार्टीले सरकारका कदमकाविरुद्ध खबरदारी गर्न नसकको उल्लेख गरेका छन् । सभापति देउवाको कमजोरीलाई तलसम्म लगेर संस्थापन इतर समूह आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने रणनीतिमा पुगेका छन् । देउवालाई गलाउन उनीहरुको रणनीति देखिन्छ ।

तर, संस्थापन पक्ष इतर समूहले लगाएको आरोपलाई विषयान्तर गर्दै जाने रणनीतिमा पुगेको छ । संस्थापन इतर पक्षले आफ्नो धारणा बाहिर ल्याएपछि बसेको देउवा पक्षको बैठकले सरकारविरुद्ध सडक र सदन तताउने निष्कर्ष निकालेका छन् । सरकारको असफलता र आर्थिक अनियमितका विषयलाई देशैभरि आन्दोलन गर्ने देउवा समूहले निष्कर्ष निकालेको छ । उक्त प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गर्ने उनीहरुको तयारी छ । संसद्को विषेश अधिवेशन बोलाउनका लागि संसदीय दलको बैठक बोलाउने निष्कर्ष निकालेको छ ।

विधानको धारा ९३ (३) मा संसदको एक चौथाई सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नसक्ने उल्लेख । तर, संसद्को विशेष अधिवेशन बोलाउनका लागि पहिलो त कांग्रेस २५ प्रतिशत संख्या छैन । २२ प्रतिशत मात्र सांसद संख्या रहेको कांग्रेसले अहिलेसम्म विपक्षमा रहेको जनता समाजवादी दलसँग छलफल अघि बढाएको छैन । विशेष अधिवेशन केका लागि अर्थात जुन मुद्दाका लागि बैठक बोलाइने हो त्यसमा मात्र छलफल हुन्छ । तर, संसद्को विशेष अधिवेशन केका लागि र के मुद्दाका विषयमा छलफल गर्न बोलाउने भन्ने स्पष्ट छैन । ‘देशमा भ्रष्टाचार बढ्यो । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकारले कुनै व्यवस्थापन गर्ने सकेन,’ सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘जनताका मर्का र जनजीविकाको सवाल सरकार गैरजिम्मेवार देखियो त्यसविरुद्ध संसद्को विषेश अधिवेशन माग गर्ने र केन्द्रीय समितिले लगत्तै देशव्यापी सडक संघर्षमा कार्यक्रम अघि बढाउने छौं ।’

यद्यपि पौडेल पक्षले अघि सारेको आरोप, महाधिवेशनको नयाँ कार्यतालिका, आन्दोलनसहितका विषयमा छलफल गर्न सभापति देउवाले शनिबार बिहान नेता पौडेलसहितका पदाधिकारीको बैठक बोलाएका छन् ।

प्रकाशित: १७ आश्विन २०७७ ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App