राजनीति

शिक्षा स्वास्थ्य उपसमितिद्वारा कोभिड अनुगमन

संघीय संसद प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिअन्तर्गत कोभिड–१९ सम्बन्धी अनुगमन गर्न गठित उपसमितिले प्रदेश १ मा अनुगमन तथा सरोकारवालासँग छलफल गरेको छ । उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठसहित ४ जनाको टोली बिहिबारदेखि प्रदेश १ मा छ । समितिले प्रदेश राजधानी विराटनगर र धरानमा कोभिड उपचार गरिने स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमन गर्नुका साथै प्रदेश सरकार र स्थानीय तहसँग पनि आवश्यक जानकारी लिएको छ । प्रदेश १ मा अनुगमनको लागि संयोजक श्रेष्ठसँगै सांसदद्वय इकबाल मियाँ, नमिता चौधरी र सचिवालयका अधिकृत अमित यादव पनि आएका छन् । प्रदेश १ पछि यो टोली प्रदेश २ को मुख्य सहर हँुदै प्रदेश ३ को मकवानपुर पुग्ने संयोजक श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिले ७ सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिले २ वटा समुह बनाएर ७ वटै प्रदेशमा अनुगमन थालेको हो । ‘संक्रमण बढ्न थालेपछि रोकथाम, नियन्त्रण र उपचारमा सरकारकोतर्फबाट के कसरी काम भइरहेको छ, अस्पतालमा उपचार कसरी हुदैछ भनेर हेर्न, बुझ्न ७ सदस्यीय उपसमिति बनाएको छ,’ संयोजक श्रेष्ठले नागरिकसँग भने, ‘उपत्यकाको निरीक्षण सकेर उपसमितिले २ समुह बनाएर सातै प्रदेशमा अनुगमन गर्न निस्केका छौं ।’

उपसमितिले देशैभरिको अवस्थालाई अध्ययन गरिसकेर आएको रिपोर्टलाई केलाउने र समितिलाई प्रतिवेदन बुझाउनेछ । संयोकज श्रेष्ठका अनुसार सरकारको काम कारवाही, सम्भावित जोखिमलाई व्यवस्थापन गर्न चाल्नुपर्ने कदमलगायतको सुझावसहित निष्कर्ष समितिलाई बुझाइनेछ । ‘तत्काल गरिहाल्नुपर्ने कुरामा मन्त्रालय र सम्बन्धित निकायसँग छलफल गछौं । तीन तहको समन्वय के छ, सरकारको काम कस्तो भइरहेको छ, र जोखिम व्यवस्थापन कसरी गर्ने भनेर सुझावसहित दिन्छौं, समितिले सरकारलाई दिन्छ,’ उनले भने ।

संयोजक श्रेष्ठसहितको टोलीले बिहीबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रमुख सचिव, मन्त्रालयका सचिवसँग प्रदेशमा कोभिडको सन्दर्भका भइरहेको काम, कोभिडको स्थिति, प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वयलगायतमा छलफल गरेको थियो । यस्तै, विराटनगर महानगरपालिकाका मेयर, कोभिडमा कार्यरत कर्मचारीहरुसँग पनि छलफल भएको संयोजक श्रेष्ठले बताए । यस्तै, कोशी अस्पताल, कोशी कोडिभ अस्पताल, होल्डिंग सेन्टर र प्रदेश ल्याबको पनि निरीक्षण गर्दै आवश्यक छलफल पनि भएको संयोजक श्रेष्ठले जानकारी दिए ।

‘प्रदेश १ जोखिममा’
श्रेष्ठले प्रदेश १ को कोरोना संक्रमितको तथ्यांक र दैनिक संक्रमितको दर हेर्दा जेखिमको अवस्थामा रहेको बताए । संक्रमितको आँकडा कम देखिए पनि दैनिकरुपमा आइरहेको तथ्यांकले होसियार हुनुपर्ने अवस्था देखिएको उनले बताए । ‘प्रदेश सरकारले जुन खालका संघीय र स्थानीय सरकारबीच सहकार्य गरिरहेको छ, ठिकै छ । संक्रमणको जुन सम्भावित जोखिमका पक्षहरु देखा परिरहेको छ, त्यसलाई थप व्यवस्थित गर्नुपर्ने, क्षमता बढाउनुपर्ने आवश्यक पनि छ,’ संयोजक श्रेष्ठले भने, ‘प्रदेश सरकारले अर्को हप्तादेखि मोरङ, झापा र सुनसरीका सरकारी शिक्षकहरुलाई जनचेतनाको अभियानमा पठाउने तयारी गरेको छ, यो अन्यलाई पनि अनुकरणीय छ ।’

प्रकाशित: १७ आश्विन २०७७ ०२:५९ शनिबार

शिक्षा स्वास्थ्य उपसमिति कोभिड अनुगमन