राजनीति

वीरगन्जमा डा. केसीको समर्थनमा पूर्वमन्त्री सडकमा

चिकित्सा शिक्षा सुधारको लागि संघर्षरत डाक्टर गोविन्द केसीको समर्थनमा वीरगन्जमा शुक्रवार प्रदर्शन भएको छ। नेपाली विद्यार्थी संघ पर्साले वीरगन्जको घण्टाघर चोकमा आयोजन गरेको विरोध प्रदर्शनमा पूर्वमन्त्रीसहित नेपाली कांग्रेस पर्साका जिल्ला नेताहरु पनि सहभागि भए। ‘डा. केसीसँग सरकारले यसअघि गरेको सम्झौता कार्यन्यवन गर्न चाहेको छैन,’ प्रदर्शन कार्यक्रममा सहभागि भएपछि पूर्वमन्त्री प्रसाद चौधरीले भने, ‘यसमा मेडिकल माफियाहरुको ठूलो हात छ। सरकार उनीहरुको प्रभावमा परेको देखिन्छ।’

कार्यक्रमका सहभागिहरुले ‘सरकार आफ्नो नियत सच्याउ, गोविन्द केसीलाई तुरुन्त बचाउ’, ‘डा. केसीको अनसन माफियालाई टेन्सन’, ‘केपी ओलीको मिशन, टालमटोलमा कमिशन’ जस्ता नारा अंकित प्लेकार्ड बोकेका थिए। ‘सत्याग्रही डाक्टर गोबिन्द केसीको समर्थनमा र दमनकारी कथित वामपन्थी सरकारको बिरुद्धमा हामीले यो शान्तिपुर्ण प्रदर्शन आयोजन गरेका हौं,’ नेबि संघ पर्साका नेता विश्वास द्विवेदीले भने, ‘सत्याग्रहको शान्तिपूर्ण माध्यमले डा. केसीले आफुले उठाएका मागहरु राख्न जोज्दा सरकार निष्ठुरी भयो, लोकतान्त्रिक मूल्यहरुको धज्जी उडाउदै तानाशाही पारामा उहाँलाई दबाउन खोज्यो।’  

अब सरकारले बुझ्ने भाषा अभिब्यक्त हुने आन्दोलनको लागि हामीले तयारीमा रहेको प्रर्दशनका सहभागिले बताए। विद्यार्थी नेताहरुको अगुवाईमा भएको प्रदर्शनमा काँग्रेसका जिल्ला नेता दिनाप्रसाद गुप्ता, प्रकाश उपाध्या, नेपाली कांग्रेस जिल्ला सचिव श्याम पटेल लगायतको सहभागिता थियो।  

 

 

प्रकाशित: ९ आश्विन २०७७ ११:४४ शुक्रबार

डा. गाेविन्द केसी