राजनीति

डा. केसीको मागमा कांग्रेसको ऐक्यबद्धता

नेपाली कांग्रेस संसदीय दलले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आन्दोलनरत अभियन्ता डा. गोविन्द केसीले अघि सारेका मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग माग गरेको छ। आइतबार संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रविज्ञप्तिमार्फत डा. केसीले अघि सारेका माग गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौता पालना गर्न माग गरेका हुन्। उनले आम नागरिकको स्वास्थ्यमा सहज रूपमा पहुँच पुगोस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गर्न पाऊन् भन्ने उद्देश्यका साथ जनहितका लागि गरिएको सत्याग्रहप्रति ऐक्यबद्धतासमेत जनाएका छन्।

प्रमुख सचेतक खाँणले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले ल्याएको स्वास्थ्यसम्बन्धी अध्यादेशलाई कार्यान्वयन गर्नका लागि पनि सरकारको ध्यानाकर्षण गराएका छन्। अनशनका कारण डा. केसीको स्वास्थ्य स्थिति दिनप्रतिदिन बिग्रँदै जाँदा पनि सरकारले माग बेवास्ता गर्नु अत्यन्त दुःखद विषय भएको विज्ञप्तिमा उल्लेख छ। नेपाली कांग्रेसले डा. केसीको जीवनरक्षाका लागि सरकारसँग माग गरेको छ।

प्रकाशित: ५ आश्विन २०७७ ०१:०५ सोमबार

नेपाली कांग्रेस डा. गोविन्द केसी