राजनीति

डा.गोविन्द केसीको १९ औ सत्याग्रह जुम्लामा शुरु

चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका डा.गोविन्द केसीले जुम्लामा १९ औ सत्याग्रह शुरु गरेका छन्। सोमबार दिउँसो २ बजेदेखि चन्दननाथ नगरपालिका ६ को रानीचौरमा रहेको बाबिरा मन्दिरमा १९ सत्याग्रह शुरु गरेका छन्।

सदरमुकाम आसपासका क्षेत्रमा स्थानीय प्रशासनले सार्वजनिक स्थलमा सत्याग्रह बस्न नदिने षडयन्त्र गर्न थालेपछि डा. केसी आधा घण्टाको उकालोमा रहेको बाबिरा मन्दिरमा गएर सत्याग्रह बसेका हुन्।

प्रत्येक सत्याग्रहमा सरकारले वार्ता गरेर समझदारी गरेपनि कार्यन्वयन नगरेको भन्दै उनले यो पटकको सत्याग्रह वारपारको लडाइ भएको बताए। नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँको सुनिश्चितता र ओली सरकारको लुटतन्त्र तानाशाहीतन्त्र विरुद्ध जुम्लामा १९ औ सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले बताए।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रम संचालन गरिनु पर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नु पर्ने लगायतका चार बँुदे माग छन्। गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने, प्रदेश नं. २ र गण्डकी प्रदश तथा डोटी, डेढेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने प्रक्रिया अघि बढाइयोस् भन्ने मागहरु रहेका छन्।  

आफु संग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डा.केसीले सत्याग्रह गरेका हुन्। उनले १६ औ सत्याग्रह पनि जुम्लामा गरेका थिए। पहिलाको सत्याग्रहका वेला गरिएका सम्झौताहरु अहिले सम्म पनि सरकारले कायान्वयन नगरेकाले आफु जुम्लामै आएर सत्याग्रह  वस्न वाध्य भएको वताए।

सदरमुकाम भित्र सत्याग्रह गर्दा स्थानीय प्रशासनले लकडाउन गर्ने, निषेधाज्ञा जारी गर्ने देखि अनेक वहानाबाजी गर्न थालेपछि एकान्त ठाउँमा सत्याग्रह बस्न गएको डा. केसी बताउँछन्।

प्रकाशित: २९ भाद्र २०७७ ०९:३८ सोमबार