राजनीति

दाहालको परीक्षा सुरु

आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अग्निपरीक्षा सुरु भएको छ। पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका दाहालले पार्टी सञ्चालनको जिम्मेवारी पाएपछि उनको अग्निपरीक्षा सुरु भएको हो। अधिकार पाएपछि दाहालले कसरी पार्टी चलाउँछन् र विवाद समाधान गर्छन् भन्ने विषय उनको कार्यशैलीमा निर्भर रहनेछ।

पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको कार्यान्वयन समझदारीपूर्ण एवं प्रभावकारी रुपमा हुन नसक्दा बेला बेलामा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तरविरोध उत्पन्न हुँदै आएको छ। यसको नकारात्मक असर समग्र दल तथा सरकारको काममा परिरहेको छ। यस्तो अवस्थामा दुई अध्यक्षले जिम्मेवारी बाँडफाँट गर्दा पाटी सञ्चालनको जिम्मेवारी दाहालको काँधमा आइलागेको छ। प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गत मंसिर ४ गतेको सहमति अनुसार दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिए पनि उनलाई बैठक सञ्चालन गर्ने र निर्णय कार्यान्वयन गर्ने अधिकार थिएन। तर अहिले पार्टी सञ्चालन गर्ने सबै अधिकार दाहालले पाएका छन्।

पार्टी विधानबमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गरी सम्बन्धित कमिटी बैठकमा पेस गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने, सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणाली अवलम्बन गर्ने र सबल बनाउनेगरी ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि सरकारको नेतृत्व गर्ने तथा दाहालले कार्यकारी अधिकारसहित पार्टी बैठक सञ्चालन, निर्णय कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारी पाएका छन्। यसबाट दाहालको काँधमा पार्टीभित्र उत्पन्न समस्या समाधान गर्ने दायित्व थपिएको छ। ‘दाहालले बैठक सञ्चालन र निर्णय कार्यान्वयन गर्ने अधिकार पनि पाएपछि पार्टीभित्र देखिएको विवाद अन्त्य गर्ने जिम्मेवारी पनि उहाँकै हुनेछ’, स्थायी कमिटीमा ओली निकट मानिने एक सदस्यले भने।

दुई अध्यक्षले तयार पारेको सहमतिको प्रस्ताव सुझावका लागि बुधबार स्थायी कमिटी सदस्यहरुलाई पठाइएको छ। सहमतिको प्रस्तावमा ओली र दाहालाको जिम्मेरी किटान गरिएको छ। प्रस्तावमाथि स्थायी कमिटी सदस्यलाई बिहीबार साँझ ५ बजेसम्म सुझाव पठाउन भनिएको थियो। केहीले सुझाव पठाए पनि केहीले बैठकमै बोल्ने भन्दै पठाएका छैनन्।

पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसकिएको गुनासो गर्दै आएका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सञ्चालनको जिम्मेवारी पाएपछि उनको अग्निपरीक्षा सुरु भएको हो।

अध्यक्षद्वयले बनाएको सो प्रस्तावप्रति वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुको असन्तुष्टि कायमै रहेको छ। विधि र पार्टीभित्र पद्धतिको कुरा उठाइरहेका वरिष्ठ नेता माधवकुमार नेपालसहित नारायणकाजी श्रेष्ठ कार्यकारी अध्यक्ष दाहालले कसरी अधिकार प्रयोग गर्छन् त्यसैअनुसार धारणा बनाउने मनस्थितिमा रहेको स्रोतले बतायो। नेपाल र श्रेष्ठ पार्टी सञ्चालन अधिकार पाएका दाहालले नेता र कार्यकर्तालाई जिम्मेवारी कसरी बाँडफाँट गर्छन् भन्ने विषयमा ‘पर्ख र हेरको नीति’ मा छन्। उनीहरुले शुक्रबारको बैठकमा पनि यसबारे धारणा राख्ने छन्। ‘उहाँहरुले बैठकमा आफ्ना धारणा राख्नुहुनेछ। अध्यक्षद्वयले प्रस्ताव गरेका धेरै विषयवस्तुमा असहमति रहे पनि कार्यान्वयन पक्ष हेरेपछि मात्रै प्रतिक्रिया दिने अरु विषय उठाइनेछ’, स्थायी कमिटीमा नेपाल निकट एक सदस्यले भने।

दुई अध्यक्षबीचको सहमित समस्या समाधानको कोशेढुंगा साबित हुने भन्दै दाहाल निकट नेताहरु त्यसको सफल कार्यान्वयन पक्षमा छन्। पार्टी सञ्चालन जिम्मेवारी महŒवपूर्ण भएको भन्दै दाहाल निकट नेताहरूले अब इमानदारीपूर्वक कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताएका छन्। ‘कार्यदलले प्रस्तुत गरेको सुझावलाई पार्टीले ग्रहण गर्नुपर्छ। दुई अध्यक्षले राखेको प्रस्ताव पनि पार्टीले गहण गर्नुपर्छ। पार्टीले ग्रहण गरिसकेपछि मात्रै कार्यान्वयनको चरणमा जान्छ’, स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने। उनका अनुसार यो प्रस्तावले सापेक्षित रुपमा अहिले पार्टीभित्र देखिएको विवाद समाधानका लागि मार्गप्रशस्त गरेको छ। ‘पार्टीभित्र देखिएको विवाद समाधान गर्न एउटा गोरेटो तयार भएको छ। यसलाई दुवै अध्यक्षले कार्यान्वयन तहमा लैजानुपर्छ। दुवै अध्यक्षको भूमिका समान हुन्छ र उत्तिकै जिम्मेवार पनि,’ उनले भने।

अध्यक्षद्वयले बुधबार साँझ स्थायी कमिटी सदस्यहरू पठाएको सहमतिको प्रस्तावमा नेपाल पक्षीय नेताहरुले भने शुक्रबार बस्ने स्थायी कमिटी बैठकमै आआफ्ना धारणा र सुझाव राख्ने भएका छन्। नेपाल पक्षका नेताहरुले पार्टी विधि र पद्धतिमा सञ्चालन गर्ने भनिए पनि प्रस्ताव अमूर्त भएको र एक व्यक्ति एक जिम्मेवारीको विषयलाई दुवै अध्यक्षले बेवास्ता गरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन्। अष्टलक्षी शाक्य, युवराज ज्ञवाली, गोकर्ण बिष्ट, रघुजी पन्त, वेदुराम भुसाललगायत स्थायी कमिटी सदस्यहरुले पार्टी सञ्चालन जिम्मेवारी दाहालले पाएपछि आफूहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताउन थालेका छन्। स्थायी कमिटी बैठक भरसक शुक्रबारै सक्नेगरी प्रस्तावमाथि सदस्यहरुबाट लिखित सुझाव मागिएको हो। ‘बैठकलाई धेरै नलम्ब्याउने योजना रहेकै कारण सुझाव मागिएको हो। धेरै सदस्यहरुबाट सुझाव आइसकेको छ’, उच्च स्रोतले भन्यो। बैठक भरसक शुक्रबार सक्ने र अध्यक्षद्वयको प्रस्ताव पनि पारित गर्ने योजना छ।

अध्यक्षद्वयको प्रस्तावमा केन्द्रीय कमिटी बैठक तथा एमसिसीका विषयमा पार्टीभित्र समझदारी बनाउने, केन्द्रीय समितिले गठन गरेको कार्यदलले दिएको सुझावका आधारमा सम्भव हुनेजति परिमार्जन गर्ने र त्यसै आधारमा संसद्बाट एमसिसी अनुमोदन गराएर जाने विधि अवलम्बन गर्ने जस्ता विषयलाई पनि प्राथमिकतामा राखिएको छ। केन्द्रीय कमिटी बैठक कात्तिकमा गर्ने प्रस्ताव गरिएको छ। असार १० देखि सुरु स्थायी कमिटी बैठक साउन १३ पछि स्थगित छ।

प्रकाशित: २६ भाद्र २०७७ ०१:०० शुक्रबार

नेकपा विवाद पुष्पकमल दाहाल