राजनीति

‘जति बेसार-पानी पिए पनि काठमाडौंमा संक्रमण बढेको बढ्यै !’

डा. प्रकाशचन्द्र लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश र जनता कोरोना महामारीको चपेटामा परिरहेका बेला सरकार भने आफ्नै स्वार्थको खेलमा लागेको आरोप लगाएका छन् ।  

जति बेसार-पानी खाए पनि काठमाडौंमा कोरोना संक्रमण बढ्दै गएको व्यंग्य गर्दै उनले सरकार जनताका समस्याप्रति जिम्मेवार नबनेको टिप्पणी गरेका छन् ।  

बिहीबार फेसबुकमा देशका समसामयिक समस्यालाई तीन बुँदामा उल्लेख गर्दै राप्रपा अध्यक्ष डा. लोहनीले सरकारप्रति कडा कटाक्ष गरेका हुन् ।  

उनले फेसबुकमा उल्लेख गरेका टिप्पणी जस्ताको तस्तै-  

तपाईं आजका राष्ट्रिय छापाहरू हेर्नुहोस्

१) काठमाडौंमा जतिसुकै बेसार–पानी पिए पनि कोभिड संक्रमण बढ्दै छ र काठमाडौंमा बन्देज कायम छ । तर नेपालका गरिब किसानहरू केही केजी मलका लागि भिडामभिड गरेर लाममा घन्टौं बस्न बाध्य छन् । तैपनि मल छैन, तर बाँच्नका लागि कोभिडको जोखिम मोल्न जनता बाध्य छन् । यसबारे सरकारलाई वास्ता छैन । तर को अर्थमन्त्री हुने भन्ने कुरो नै सबैभन्दा प्राथमिकतामा परेछ ।

२) कोभिडको महामारी भारतमा छ । तर सुदूरपश्चिमाञ्चलबाट हजाराब्ैं युवाहरू कोरोनापीडित भारतमा जाँदै गरेको तस्बिर आजका छापाहरूमा छन् । डाक्टर हेमराज पन्तले भनेजस्तो योभन्दा लज्जास्पद कुरो के हुन्छ ? संकटमा परेको क्षेत्रका जनताका लागि कामका लागि खाद्यान्न व्यवस्था गरी देशभित्रै बच्ने वातावरण किन बनाउन नसकेको ? यो देशमा सरकार छ कि लुटको राज्य ?

३) एकातिर पैसाको अभाव भनिन्छ भने अर्कातिर मुआब्ज़ासम्म वितरण नगरी कानुनविपरीत तीस अर्बको रेल बनाउने ठेक्का मिलोमतोमा बाँडिन लाग्यो भन्ने खबर व्याप्त छ । तर सरकार मौन छ । हरियो मकैबारीमा पसेको साँढे, जसले जे गरे पनि मकै खान नछाड्नेजस्तो उसको चरित्र छ ।

अब तपाईं भन्नुस्, नेपाली जनताविरुद्ध नेपालमा को सक्रिय छ ?

प्रकाशित: १८ भाद्र २०७७ ११:१४ बिहीबार

काठमाडौं बेसार-पानी