राजनीति

कोरोना कहरमै कार्यकर्ता तानातान

म्याग्दीमा आयोजित पार्टीगत कार्यक्रम र सिसीएमसी बैठकमा सहभागी राजनीतिक दल, सांसदसहितको टोली । तस्बिर: नागरिक

म्याग्दीमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत भदौ ३ गते जिल्ला समन्वय समितिमा आयोजित सर्वपक्षीय बैठकमा जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गर्ने, कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेका निर्देशन पालना गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेको मसि सुक्न नपाउँदै सांसद, जनप्रतिनिधि, सत्तापक्ष र प्रतिपक्ष दलले नै प्रतिबद्धता उल्लंघन गरेका छन्। जिसस भवनमा कोरोनाविरुद्धको अभियानलाई प्रभावकारी बनाउन आवश्यक साथ दिने प्रतिबद्धता जनाएका नेपाल कम्यूनिष्ट पार्टी, नेपाली कांग्रेसले पार्टी प्रवेश, भेटघाट र अनुगमनका गतिविधिलाई तीव्रता दिएर आफूले नै जनाएको प्रतिबद्धता तोडेका छन्।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा तीनै तहका जनप्रतिनिधि, राजनीतिक दलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) म्याग्दीको बैठकमा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, संविधानसभाका सदस्य रेशमबहादुर बानियाँ, प्रदेश सांसद विनोद केसीसहित स्थानीय तहका प्रमुखले समुदायस्तरमा कोरोना संक्रमण फैलिन नदिन ब्यक्तिगत तथा संस्थागत रुपमै साथ दिने बताएको तीन दिनपछि नै पार्टीगत भेला, प्रवेश र अनुगमनमा कोरोना संक्रमणविरुद्धको मापदण्डलाई पालना नगरेको पाइएको छ। गाउँमा भिडभाड गरेर पार्टीका गतिविधिका साथै सामाजिक दूरी कायम नगर्ने, मास्क नलाई कार्यक्रममा सहभागी हुने जस्ता गतिविधि ठूला राजनीतिक दल, जनप्रतिनिधिबाटै हुन थालेको भन्दै सरोकारवाला निकायले नै चिन्ता ब्यक्त गरेका छन्। पछिल्लो एकसाता यता नेकपा र नेपाली कांग्रेसले भेला गरेर पार्टी प्रवेशको लहर चलाएका छन्।  

दलिय गतिविधि झट्ट हेर्दा निर्वाचनको झल्को दिने जस्ता देखिन थालेपछि कोरोनाको जोखिमलाई मध्यनजर गरी भेला लगायतका कार्यक्रम नगर्न समेत अनुरोध अनौपचारिक रुपमा जानकारी समेत गराइएको प्रजिअ अधिकारीले बताए। ‘समुदायस्तरबाटै गुनासो आउन थालेको छ,‘सबै राजनीतिक दलसँग बसेर छलफल गर्ने तयारीमा छु’ प्रजिअ अधिकारीले भने। उनले कोरोनाविरुद्धको अभियानमा राजनीतिक दल, जनप्रतिनिधिको साथले सहज हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको बताए। उनले सर्वपक्षीय बैठकमा कोरोना भाइरस रोकथाम, सेवा प्रवाहलाई सहज, पारदर्शिता, सुशासन कायम गर्ने जस्ता सातबुँदे सहमतिमा राजनीतिक दल प्रतिबद्ध रहेको बताउँदै दलीय सहमति र सहकार्यबाटै अगाडी बढ्ने बताए। प्रजिअ अधिकारीले सहमति र सहकार्यबाट अगाडी बढ्ने बताइरहदाँ जिल्लामा नेकपा र नेपाली कांग्रेस बीच सामाजिक सञ्जालमा पार्टीगत गतिविधिमा पक्षपात गरेको आरोप समेत लगाउन थालिएको छ।  

एउटा पार्टीलाई भेला आयोजना गरी पार्टी प्रवेश गर्न छुट दिने, अर्कोको कार्यक्रमलाई फोन गरेर स्थगित गर्न लगाएको भन्दै सामाजिक सञ्जालमा नेपाली कांग्रेसका समर्थकले आलोचना गरेका छन्। पार्टी प्रवेश गरेका स्थानीय कार्यकर्तासहितको तस्बिरले सामाजिक सञ्जाल रंगाउने, प्रवेश गरेपछि फिर्ता भएसम्मका गतिविधि देखिन थालेपछि यो क्रम थप चर्किने देखिएको छ। ‘कांग्रेस छोडेर आउने चाहना गरेकालाई प्रवेश गराएको मात्रै हो,‘पार्टीले नियमित अभियान सञ्चालन गरेको छैन’ नेकपाका एक नेताले भने। त्यस्तै नेपाली कांग्रेसले नेकपाको गतिविधिबाट आजित भएर प्रवेश गरेकालाई पार्टी कार्यालयमा स्वागत गरेको दावी गरेको छ।  

दुवै पार्टीले सामाजिक दूरी कायम गर्न असफल भएपनि मास्क अनिवार्य गरिएको दावी गरेका छन्। नेकपामा मंगला गाउँपालिकाका स्थानीय कांग्रेस कार्यकर्ता र नेकपामा नेकपाका पूर्व अर्मन गाविस उपाध्यक्ष बलभद्र ढकालसहितको टोली प्रवेश गरेपछि चुनावी झल्को दिने गरी प्रवेशको गतिविधिले तीव्रता पाएको हो। कोरोनाविरुद्धको सचेतना फैलाउनुपर्ने बेलामा पार्टीगत गतिविधिमा ब्यस्त हुनु अत्यन्तै अशोभनिय काम  भएको म्याग्दीका नागरिक अगुवाको भनाई छ।  

छिमेकी जिल्ला बागलुङमा कोरोना संक्रमण समुदायस्तरमा फैलिइसक्योको अवस्थामा थप सतर्क र सचेत भएर लाग्नुको विकल्प नभएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए। ‘नागरिकले आफ्नो जिम्मेवारी भुल्न हुदैन,‘यहाँको समुदायमा कोरोनाको प्रवेशलाई रोक्न जनस्वास्थ्यको मापदण्ड पुरा गरौं’ प्रमुख लम्सालले भने। जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको हुबहु कार्यान्वयन गर्न समेत उनले आग्रह गरे। जिल्लामा रोजगारको सिलसिलामा भारतसहित तेस्रो मुलुकबाट म्याग्दीमा आएका ४८ जना संक्रमित निको भई घर फर्किएको अवस्थामा म्याग्दी सक्रिय कोरोना संक्रमित मुक्त जिल्ला भएको केहीसातामै सरुवा भएर पोखराबाट आएका एक प्रहरीमा कोरोना देखिएपछि आइसोलेन कक्षमा उपचार गराइरहेका छन्।  

हालसम्म समुदायस्तरमा कोरोनाको जोखिमलाई मध्यनजर गरी संकलन गरिएको करिब ५ सयसहित कुल १४ सय २० भन्दा बढीको स्वाब संकलन गरिएकोमा कोरोना संक्रमित निको भएर गएका बाहेक सबैको स्वाब नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ। देशका विभिन्न जिल्लाका साथै छिमेकी बागलुङबाट आएका, संक्रमतिको कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब संकलनलाई समेत तीव्रता दिइएको छ।

प्रकाशित: १८ भाद्र २०७७ ०७:२४ बिहीबार