राजनीति

नीतिभन्दा नेताकेन्द्रित

ठूला दलमा नेतृत्व बहस

नेपाली कांग्रेसभित्र नीति तथा कार्यक्रमभन्दा नेताकेन्द्रित छलफल तीव्र भएको छ । फागुनका लागि तय गरिएको १४औं महाधिवेशन सर्ने निश्चित भए पनि नेताहरू नेतृत्व हात पार्न सक्रिय भएर लागेका छन् । सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाका साथै शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीसहितका नेताले नेतृत्वका लागि आकांक्षा देखाउँदै गुटगत र व्यक्तिगत भेटघाटलाई तीव्र बनाएका छन् ।  

पार्टीको मुख्य नेतृत्वका आकांक्षीहरूमा मात्र होइन, दोस्रो र युवा पुस्तासहित तल्लो तहसम्मका नेता–कार्यकर्तामा पनि व्यक्ति र गुटकेन्द्रित बहस तीव्र भएको छ । केन्द्रदेखि वडा तहको नेतृत्वका आकांक्षीसँग आफूले नेतृत्व लिन किन चाहेको भन्ने स्पष्ट जवाफ छैन । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजयसँगै राष्ट्रिय राजनीतिमा पनि भूमिका कमजोर भएको कांग्रेसलाई पुनर्ताजगी दिने नीति, कार्यक्रम र योजना उनीहरूसँग छैन । कस्तो नीति तथा कार्यक्रम बनाउनेभन्दा पनि केन्द्रदेखि गाउँसम्म, गाउँदेखि केन्द्रसम्म  नेताकेन्द्रित छलफल भइरहेका छन् । पार्टीको संस्थागत विकास र विस्तारमा होइन, सबै तहका नेता–कार्यकर्ताको ध्यान व्यक्ति र गुटकेन्द्रित बन्न पुगेको छ ।  

संगठन सुधार, दीर्घकालीन योजनाभन्दा एकले अर्कोलाई हराएर नेतृत्वमा पुग्ने र टिक्ने रणनीतिमा नेताहरूको ध्यानकेन्द्रित हुँदा कांग्रेसको १४औं महाधिवेशनमा नीति तथा कार्यक्रम होइन, नेताले प्राथमिकता पाउने देखिएको छ । गुटबन्दीले थिलथिलो बनेको कांग्रेसमा महाधिवेशनपछि पनि सामूहिकताभन्दा व्यक्तिवादी प्रवृत्ति हाबी हुने विश्लेषण गर्न थालिएको छ ।  

देश र जनताको हितमा काम गर्न सक्ने पार्टी निर्माणका लागि नीति तथा कार्यक्रम र योजनाभन्दा व्यक्तिगत स्वार्थ कांग्रेसमा हाबी हुँदै गएको केन्द्रीय सदस्य बद्री पाण्डेको बुझाइ छ । महाधिवेशन नेतृत्व चयन गर्ने थलो मात्र नभएर त्यसपछि पार्टीले आत्मसात् गर्ने नीति तथा कार्यक्रम निर्माण गर्ने मञ्च पनि हो । तर अहिले नीति तथा कार्यक्रमभन्दा व्यक्तिको विषयमा मात्र चर्चा र बहस भएको उनले बताए । संस्थाभन्दा व्यक्तिवादी सोच र प्रवृत्ति हाबी भएको पाण्डेको बुझाइ छ । ‘व्यक्तिलाई होइन, पार्टी संगठनलाई केन्द्रमा राख्नुपर्ने हो तर अहिले संस्थालाई होइन, व्यक्तिलाई हिरो बनाउने काम भइरहेको छ,’ उनले भने, ‘नीति तथा कार्यक्रममा ध्यान नै पुग्न सकेको छैन ।’

पार्टीको मुख्य नेतृत्वका आकांक्षीहरूमा मात्र होइन, दोस्रो र युवा पुस्तासहित तल्लो तहसम्मका नेता–कार्यकर्तामा पनि व्यक्ति र गुटकेन्द्रित बहस तीव्र भएको छ । कांग्रेसलाई पुनर्ताजगी दिने नीति, कार्यक्रम र योजना भने कसैले अघि सारेको अवस्था छैन ।  

२०४६ सालको राजनीतिक परिवर्तनपछि मुलुकको शासन व्यवस्थामा पुगेका कांग्रेस नेता–कार्यकर्ताको ध्यान वैचारिक बहस, कार्यक्रम र योजनाभन्दा सरुवा, बढुवा र नियुक्तिमा केन्द्रित बन्यो । वैचारिक बहसभन्दा व्यक्तिगत र गुटगत स्वार्थ हाबी हुँदै जाँदा कांग्रेसमा नीतिगत र वैचारिक बहसको संस्कृति नै अन्त्य भएको केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको बुझाइ छ ।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना हुनुअघिसम्म ससाना समूहमा भए पनि पार्टीभित्र वैचारिक छलफल र बहसहरू हुने गरेको उनले बताए । ‘२०४६ सालपछि हामी सत्ता र शक्तिका पछाडि कुद्यौं । वैचारिक बहसको संस्कृति नै अन्त्य भयो ।’

महाधिवेशन वा महासमितिमा औपचारिकताका लागि राजनीतिक, सांगठनिकसहित विभिन्न प्रतिवेदन पेस हुने गरे पनि त्यसप्रति कसैले चासो नदिने घिमिरेको बुझाइ छ । महाधिवेशनमा पेस भएका प्रतिवेदनहरू सहभागीहरूले राम्रोसँग पढ्दा पनि नपढ्ने टिप्पणी गर्दै उनले भने, ‘नेता नभएर जबसम्म नीति तथा कार्यक्रम र विचारमा पार्टीभित्र छलफल केन्द्रित हुँदैन, कांग्रेस मुलुकको नेतृत्वमा त फेरि पुग्ला तर देशलाई परिवर्तन गर्न सक्दैन ।’

व्यक्तिवादी सोच र संस्कारलाई परिवर्तन गरेर विचार र कार्यक्रममुखी संस्कृतिको विकास गर्नुपर्ने उनले बताए । नेतृत्व चयन र वैचारिक र नीतिगत छलफलका लागि अलगअलग महाधिवेशन गर्नुपर्ने उनको तर्क छ । दुवै काम एकैसाथ हुँदा सबैको ध्यान नीतिभन्दा नेता चयनमै केन्द्रित हुने गरेको उनको बुझाइ छ ।  

पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी भएको बताउँदै केन्द्रीय सदस्य घिमिरेले नेपालका अन्य राजनीतिक दल र दक्षिण एसियामै व्यक्तिको ‘डोमिनेसन’ रहेको सुनाए । जनताप्रति उत्तरदायी र जवाफदेहिता पनि हराउँदै गएको घिमिरेको बुझाइ छ । दोस्रो विश्वयुद्धपछि विश्वास धेरै प्रजातान्त्रिक मुलुक लोककल्याणकारी राज्यको अवधारणामा गइसक्दा नेपालमा त्यसको अवधारणा पनि सुरु नभएको बताउँछन् । ‘नेतृत्वमा पुग्ने (राजाको छोरा नै राजा हुने) पद्धति मात्र फेरियो तर संस्कार र संस्कृति फेरिएन,’ उनले भने, ‘राजनीतिक दल र तिनका नेतालाई निर्वाचनबाट मत दिएपछि जनतामाथि शासन गर्ने हामी शासक हौं भन्ने मानसिकता विकास भयो । जुन गलत हो ।’

मुलुकमा लोकतन्त्र स्थापना गर्ने र सबैलाई त्यही बाटोमा हिँडाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने कांग्रेसले अरूलाई देखाएर पन्छन नमिल्ने उनले बताए । ‘सबैलाई लोकतन्त्रको स्वाद चखाउने र त्यही बाटोमा हिँडाउन कांग्रेसले नेतृत्व लिनुपर्ने हो त्यो सकेको छैन,’ केन्द्रीय सदस्य घिमिरेले भने, ‘कांग्रेसले व्यक्तिलाई होइन नीति, कार्यक्रम र विचारलाई प्राथमिकता दिनुपर्छ ।’

केन्द्रीय सदस्य बद्री पाण्डे नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर सामूहिक भावनामा अघि नबढेसम्म एक व्यक्तिले मात्र केही गर्न नसक्ने बताउँछन् । पार्टी संगठनलाई सुदृढ बनाउन विचार, विधान, बैठक र व्यवस्थापनमा जोड दिनुपर्ने धारणा राख्दै उनले भने, ‘विचारलाई धारिलो बनाउनुप¥यो । स्पष्ट कार्यक्रम ल्याउनुप¥यो अनि विधानअनुसार संगठन सञ्चालन गर्नेतिर हाम्रो ध्यान पुगेको छैन ।’

विधानअनुसार पार्टी संगठन सञ्चालन नहुने र नेता तथा कार्यकर्ताको उचित व्यवस्थापन र जिम्मेवारी नहुँदा पार्टीमा विवाद र समस्या उत्पन्न हुने गरेको उनले बताए । केन्द्रीय सदस्य पाण्डेले थपे, ‘व्यक्तिलाई होइन, संस्था र नीति तथा कार्यक्रमलाई केन्द्रमा राख्नसके मात्र देश र जनताको अपेक्षाअनुसारको काम गर्न सक्ने पार्टी निर्माण हुन्छ ।’

अर्का केन्द्रीय सदस्य कल्याण गुरुङ नेतृत्वका आकांक्षी नेताहरूले पनि आफूलाई विचार र कार्यक्रमभन्दा व्यक्तिकेन्द्रित छलफल अघि बढाएको सुनाउँछन् । ‘विचार कार्यक्रमका लागि होइन पद, भागबन्डाका लागि मात्र संघर्ष चलिरहेको छ,’ उनले भने, ‘जसले विचारको कुरा पनि गरेका छन् उनीहरू पनि भागबन्डालाई नै केन्द्रमा राखेका छन् । त्यसको कुनै अर्थ छैन ।’ नेतृत्वमा को पुग्यो भन्दा पनि सामाजिक, राजनीतिक विचार स्थापित गराउनु ठूलो कुरा भएको बताउँदै उनले भने, ‘त्यसमा कसैको ध्यान छैन ।’

प्रकाशित: १७ भाद्र २०७७ ०१:४५ बुधबार

नेपाली काँग्रेस महाधिवेशन बहस