राजनीति

किरात प्रदेश नामाकरणमा दुई तिहाई पुगेन : सांसद राई

यायोक्खाको स्थापना दिवसको अवशरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेशसभा सांसद रामकुमार राई । तस्बिर: दमन राई/नागरिक

प्रदेश नम्बर १ का सांसद रामकुमार राई ‘पासाङ’ले विवादका कारण लामो समयसम्म प्रदेशको नामाकरणमा हुन नसकेको बताएका छन् । किरात राई यायोक्खाको ३३ औं स्थापना दिवसको अवसरमा बिहीबार खोटाङको दिक्तेलमा आयोजित शुभकामना आदान–प्रदान एबं ‘मुन्धुम र किरात इतिहास’ विषयक अन्तरक्रीया कार्यक्रममा प्रदेशसभा सांसद राईले चर्चामा आएका कुनै पनि नामका विषयमा सहमति नजुटेका कारण तीन वर्षसम्म प्रदेशको नामाकरण अड्किएको बताएका हुन् ।  

किरात राई यायोक्खाले प्रदेशको नामाकरणका लागि दवावमुलक कार्यक्रम गरिरहेको भए पनि दुई तिहाइ नपुगेकाले किरात नामाकरण गर्न नसकिएको स्पष्ट पारेका छन् । ‘हाम्रो कुरा नमिलेरै अहिलेसम्म प्रदेशको नामाकरण हुन नसकेको हो । किरात लेख्नेको पक्षमा दुई तिहाई पुग्दैन, किरात नलेख्नेको पक्षमा पनि दुई तिहाइ पुग्दैन,’ प्रदेशसभा सांसद राईले भने, ‘स्पष्ट छ, किरातको पक्षमा हामी औंलामा गन्न सकिने संख्यामा छौँ । यो पाँच वर्ष नभए अर्कोपल्ट होला । दवावलाई जारी राखौं ।’ ऐतिहासिक पहिचान, किराती सभ्याता र किराती समुदायको बसोबास रहेको आधारमा प्रदेश नम्बर १ को नाम किरात प्रदेश राख्दा कसैलाई अन्यथा नहुने सांसद राईले बताए ।  

कार्यक्रममा मुन्धुम अध्येता भोगीराज चाम्लिङले वाछिमाला (पुल्लिक) निकाल्ने नाममा प्रागऐतिहासिक चिहान बिनाश भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा ‘मुन्धुम र किरात इतिहास’ विषयक कार्यपत्र प्रस्तुत गर्दै मुन्धुम अध्येता चाम्लिङले राम्रो मूल्य पाउने नाममा वाछिमाला निकाल्दा अधिकांश ठाउँका पुराना चिहान बिनाश भएको बताए । ‘पुराना चिहानमा पाइने वाछिमालाको अध्ययनबाट प्रागऐतिहासिक विषय अध्ययन अनुसन्धान गर्न सकिन्छ,’ मुन्धुम अध्येता चाम्लिङले भने, ‘तर पैसाको लोभमा यस्ता पुराना चिहान विनास भइसकेको छ । इतिहासको अध्ययनका लागि यस्ता चिहानलाई संरक्षण गर्नुपर्छ ।’  

मुन्धुम अध्येता चाम्लिङले मुन्धुम नै किराती सभ्यता र इतिहासको श्रोत भएको बताए । ‘किराती इतिहास, संस्कृति कुनै अभिलेख वा कितावबाट पाउन सक्दैनौं,’ चाम्लिङले भने, ‘मुन्धुम अर्थात मौखिक ज्ञानका आधारमा मात्र थाहा पाउन सक्छौँ । लिखितमा होईन ।’ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, यायोक्खाका केन्द्रीय सदस्य बिर्सिका राई, कांग्रेसका दुर्गाप्रसाद घिमिरे, जनता समाजवादीका जिल्ला अध्यक्ष टंक थापा, जनजाती महासंघका जिल्ला सचिव रबिन खम्बु लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम यायोक्खाका अध्यक्ष हात्तीराम राईको सभापतित्वमा भएको थियो ।

प्रकाशित: २२ श्रावण २०७७ ०९:३५ बिहीबार

प्रदेश नामाकरण