राजनीति

सत्तारुढ दलको खटपटले ब्यवस्थालाई आघात पुग्ने खतरा भो : अध्यक्ष तिमिल्सिना

बुधबार पोखरामा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना (बायाँबाट दोश्रो)सहित अतिथिहरु । तस्बिर : सन्देश/नागरिक

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सत्तारुढ दल भित्रको खटपटले ब्यवस्थालाई नै आघात पुग्ने खतरा देखिएको बताएका छन् । नेपाल चीन हिमालय मैत्री समाज नेपाल (नेचिप्स)ले नेपाल–चीन दौत्य सम्बन्ध गाँसेको ६५ औं वर्षगाँठको अवसरमा बुधबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘सत्तारुढ दलमा देखिएको खटपटले वर्तमान ब्यवस्था नै खतरामा खतरा भो, यो ब्यवस्था नै परिवर्तन हुने पो होकि भन्ने खतरा भो ।’ उनले यस्तो हुन नदिन सबै सजग र सचेत हुन जरुरी रहेको बताए । 

नेपाली जनताले अहिले दलरदलबीच अस्वस्थ प्रतिष्पर्धा तथा दल भित्रबीच खिचातानी नचाहेको बताउँदै बरु विकास र समृद्धि चाहेको बताए । गणतन्त्र आइसकेपछि पनि दल तथा दलभित्रका आन्तरिक प्रतिष्पर्धाहरु आफ्नो स्वार्थलाई केन्द्रीत गरेर अगाडि बढ्दा जनताको चाहना पूरा नहुने अवस्था देखिएको बताए ।

अध्यक्ष तिमिल्सिनाले विगतमा भएको घट्नाका कारणपनि अहिलेको खटपटले ब्यबस्था नै परिवर्तन हुने हो कि भनेर सोंच्न बाध्य बनाएको बताए । हिजो २०१७ सालमा दुई तिहाईको सरकार अपदस्थ गरेर निरंकुशता लाद्ने काम भयो, २०५१ सालमा बहुमत हुँदाहुँदै मध्यावधि निर्वाचन भयो,‘उनले भने,‘अहिलेपनि त्यस्तै हुने हो कि भन्ने त्रास आम नेपालीमा फैलिएको छ ।’ उनले ब्यवस्थामाथि नै खतरा हुन्छ कि भनेर सोंच्नु स्वाभाविक भएको समेत जिकिर गरे । ‘नेपालीमा एउटा उखान छ–“अगुल्टोदेखि तर्सेको कुकुर बिजुली चम्किदा तर्सिन्छ” भनेजस्तै अहिले सत्तारुढ दलभित्र खटपट हुँदा आम नेपालीमा अब के हुने हो, कसो हुने हो भन्ने त्यो त्रास नेपालीमा छ’–उनले भने ।

अध्यक्ष तिमिल्सिनाले सत्तारुढ दलभित्र भएको खटपटले नेपाली जनतामा विकास र समृद्धि आउँदैन कि भन्ने चिन्ता बढेको बताए । यदि ब्यवस्थामाथि नै खतरा भयो वा ब्यवस्था नै परिवर्तन भयो भने नेपालका दलहरु आन्दोलन गर्न सक्छन् तर विकास, समृद्धि, सुशासन र न्याय स्थापना गर्न भने सक्दैनन् भन्ने सन्देश जनतामा जाने उनको भनाई छ । त्यसैले दलहरुले आफूलाई प्रमाणित गर्ने बेला आएको बताउँदै उनले भने,‘नेपालका दलहरु आन्दोलन गर्नका लागि मात्र जन्मेका होइनन् । सुशासन र न्याय दिनका लागि, विकास र प्रगतिका निमित्त सरकार चलाउन सक्छन् भन्ने कुरा प्रमाणित गर्ने बेला आएको छ ।’ अन्यथा जनतामा निराशा छाउनेसमेत उनले बताए ।

अध्यक्ष तिमिल्सिनाले विकासोन्मुख देशहरुको विकास र समृद्धिका लागि छिमेकी देशहरुबाट सहयोग लिनु आवश्यक रहेको बताए । उनले चीनले अघि सारेको बेल्ट एण्ड रोड ईनिसियटिभ (बिआरआई) स्वागतयोग्य रहेको बताउँदै तर यसलाई नेपालले सदूपयोग भने गर्न सक्नुपर्नेमा जोड दिए ।

अध्यक्ष तिमिल्सिनाले दीगो विकासका लागि योजनाबद्ध ढंगले काम गर्न स्थानीय तहहरुलाई सुझाव दिए । विकास गर्न नजान्दा विनास भइरहेको भन्दै उनले भने,‘दीगो विकासका लागि योजनाबद्ध विकास गर्नुस्, जुन आम जनताले पाउन सकुन्, विकास विनासलाई नियन्त्रण गर्नेगरी हुनुपर्छ, त्यसतर्फ लाग्नुस् ।’

प्रकाशित: १४ श्रावण २०७७ १०:४० बुधबार

सत्तारुढ दलको खटपट