पार्टी बिभाजनसम्मको जोखिमसहित सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी(नेकपा)को केन्द्रीय तहमा देखिएको बिबादले जिल्ला तहका कार्यकर्तामा निरासा छाएको छ । केन्द्रीय तहमा सत्ता र शक्तिका लागि मात्रै संघर्ष भईरहेको भन्दै जिल्ला तहका नेताहरुले त्यसलाई छाडेर बृहत पार्टी एकताका लागि शीर्ष नेतृत्वलाई आह्वान गरेका छन् ।
‘हामी सर्वहारा वर्गको पक्षमा समानता र स्वतन्त्रताका आधारबाट समाजवाद उन्मुख राज्य व्यवस्था स्थापनाका लागि कम्युष्टि भएका हौं’ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित अन्तर्क्रियामा नेकपा ताप्लेजुङका कार्यालय सदस्य सन्तोष खतिवडाले भने‘ शीर्ष नेतृत्वको ताल हेर्दा अवसर केन्द्रित देखिन्छ, यो पटक्कै सुहाएन ।’ खतिवडा पुष्पलाल मित्रता केन्द्रका जिल्ला अध्यक्ष समेत हुन् । सत्ता र शक्तिका लागि शीर्ष नेतृत्वले हानथाप गरिरहने हो भने यसले बृहत पार्टीका आम कार्यकर्तामा निरासा छाउने उनको भनाई थियो । नेकपाका अर्का कार्यालय सदस्य बिष्णुकुमार हाङ्वाङ लिम्बूले बिबादका लागि मात्र पार्टी एकता नभएको बताउँदै शीर्ष नेतृत्वमा देखिएको बिबाद बैचारिक हिसाबले आउनुपर्नेमा जोड दिए ।
उनले आम जनताको मनोभावनालाई बुझेर शक्ति र शक्तिको आसा भन्दामाथि उठेर सहमति खोज्न शीर्ष नेतृत्वको ध्यानाकर्षण गरेका छन् । यी प्रतिनिधि बिचारले नेकपाका तल्लो तहका कार्यकर्ताले शीर्ष नेतृत्वमा देखिएको बिबादको चाँडै अन्त्य चाहेको संकेत गर्छ । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालका जिल्ला इञ्चार्ज दीपेन पोमू शीर्ष नेतृत्वबीच बैचारिक बहस तर आम सहमतिको बिकल्प नरहेको बताउँछन् । उनले अहिलेको बिबादले चाँडै समाधान नपाए पार्टी एकतामा थप जोखिम आईपर्ने औंल्याएका छन् ।
अनेरास्ववियुका केन्द्रीय सदस्य प्रजिन हाङ्वाङले बलियो नेकपाको पक्षमा रहेका आम कार्यकर्तालाई खुसी दिने गरी शीर्ष नेतृत्व बीच सहमतिको खाँचो औंल्याएका छन् । बिबाद र बिग्रहले कसैलाई फाईदा नगर्ने उनको बुझाई छ । पुष्पलाल स्मृति प्रतिष्ठान र पुष्पलाल मित्रता केन्द्रको संयुक्त आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वोले शीर्ष नेतृत्वले आम पार्टीका कार्यकर्तालाई खुसी र अचम्म्ति तुल्याउने गरी बृहत सहमतिको सन्देश प्रवाह गर्ने बिश्वास लिए । उनले अहिलेको बिबाद आम जनताको चाहना अनुसार र पार्टीलाई थप बलियो र संस्थागत बनाउने अभियान केन्द्रित हुने आसा समेत लिए ।
कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य अम्बिका राजभाण्डारी, कार्यालय सदस्य मातृकाप्रसाद भट्टराई, पुष्पलाल स्मृति प्रतिष्ठानका जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, जिल्ला सचिवालय सदस्य तथा पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बासहित जिल्ला सचिवालय सदस्य तथा जिल्ला सदस्य, पालिका संगठन कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव, भातृसंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित: ७ श्रावण २०७७ १०:२१ बुधबार