राजनीति

महाधिवेशन प्रभावित गर्न खोजेको भन्दै कांग्रेसका असन्तुष्टले दर्ता गराए ध्यानाकर्षण पत्र

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी  विधान र निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । असन्तुष्ट पक्षले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि पनि विभागहरू गठन र सदस्य मनोनित गर्ने काम जारी राखेको भन्दै त्यसलाई रोक्न माग गर्दै लिखित ध्यानाकर्षण पत्र दर्ता गराएका हुन् ।  

नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले संयुक्तरुपमा हस्ताक्षरसहितको पत्र बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता गराउँदै उनीहरूले महाधिवेशनलाई अनुचित प्रभाव पार्ने काम बन्द गर्न आग्रह गरेका छन् ।  

विधि र पद्धति मिचेर हाल गठन भएका विभागहरू स्वीकार्य नहुने जनाउँदै उनीहरुले भनेका छन्, ‘आशन्न महाधिवेशनको स्वच्छता एबं निष्पक्षतालाई ध्यानमा राख्दै यस्तो विधान एबं निर्वाचिन आचारसंहित विपरीतका मनोनयन र नियुक्तहरूलाई स्वीकार नगर्न पार्टीका सम्पूर्ण तका नेता, कार्यकर्ता एबं शुभेच्छुक साथीहरूलाई आह्वान गर्दछौं ।’

असन्तुष्ट पक्षको बुधबार बसेको भेलाले  सभापति देउवाले पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्न सक्रिय रहेको निष्कर्ष निकालेको थियो ।

विभाग गठन, अनुशासन समितिको नाममा अर्को पक्षलाई तर्साउने र अन्य पार्टीबाट आएको नाउमा सभापतिले धेरै जिल्लामा क्रियाशील सदस्यता थप गरेर महाधिवेशन प्रभावित गर्न लागेको उनीहरूको आरोप छ ।

प्रकाशित: १ श्रावण २०७७ १४:३२ बिहीबार

कांग्रेस महाधिवेशन ध्यानाकर्षण पत्र