राजनीति

पोखरेललाई कायमै राख्न असन्तुष्टको माग

नेपाली कांग्रेसका असन्तुष्ट पक्षीय नेताहरूले नवलपरासी (बर्दघाट पश्चिम)को कार्यवाहक जिल्ला सभापति अर्जुन पोखरेललाई कायमै राख्न माग गरेका छन्। महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा आइतबार बसेको निकट नेताहरूको बैठकले पार्टी विधानको व्यवस्थाविपरीत पोखरेललाई हटाएको ठहर गरेका हुन्।  

विधानको धारा ५० को ८ अनुसार कार्यवाहक जिल्ला सभापति हटाउन नमिल्ने जिकिर गर्दै असन्तुष्ट पक्षको निष्कर्ष छ,‘कार्यवाहक सभापतिलाई हटाउने हो भने निर्वाचन गर्ने मात्र विकल्प छ। मनोनित गर्ने छैन।’

सभापति शेरबहादुर देउवाले गत फागुन २१ गते कार्यवाहक सभापति पोखरेललाई हटाएर आफूनिकट विष्णुप्रसाद पौडेललाई पठाएका थिए। १३औं अधिवेशनबाट विष्णु लामिछाने नवलपरासीको जिल्ला सभापति थिए।  

उक्त जिल्ला नवलपुर र नवलपरासी दुई जिल्ला बनेपछि लामिछाने नवलपरासी (बर्दघाट पूर्व) नवलपुरका सभापति भएभने उपसभापति पोखरेललाई बर्दघाट पश्चिम नवलपरासीमा कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो। तर, सभापति देउवाले उनलाई हटाएपछि कांग्रेसमा विवाद उत्पन्न भएको छ। उक्त जिल्ला महामन्त्री कोइरालाको गृह जिल्ला पनि हो। 

प्रकाशित: २९ असार २०७७ ०३:२१ सोमबार

नेपाली कांग्रेस