राजनीति

भारतीय मिडियाको बकवासपूर्ण प्रचारबारे पत्रकार महासंघको भर्त्सना

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय सञ्चारमाध्यम  जी न्यूजले बनाएको समाचारबारे नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै उक्त सामाग्री असत्य, भ्रामक र कपोकल्पित भएको बताएका छन्।  

भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक भएको महासंघले बताएको छ। भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ। महासंघले भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार/प्रसारको कडा शब्दमा भर्त्सना गरेको छ। साथै, महासंघले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

 

प्रकाशित: २५ असार २०७७ १२:०७ बिहीबार

भारतीय मिडिया