राजनीति

प्रचण्ड-माधवसहितका शीर्ष नेता राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। अध्यक्ष दाहालसहित सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खानाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठसहितका नेताहरू राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्।  स्रोतका अनुसार उनीहरू आइतबार बिहान ११ बजेतिर शितल निवास पुगेका हुन्।

नेकपाभित्रको विवाद चर्किँदै गएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका नेताहरू राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन्।

यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पटक-पटक राष्ट्रपति भण्डारीलाई भेटेका छन्। जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि नेकपामा विवाद उत्कर्षमा पुगेको हो। अहिलेको विवादले पार्टी फुटको सँघारमा पुगेको समेत टिप्पणी समेत हुने गरेको छ।

एकता जाेगाउन अन्तिम प्रयास गर्ने भन्दै स्थगित स्थायी समिति बैठक सोमबार पुनः बस्दै छ। शनिबार साँझ मन्त्री र राज्यमन्त्रीहरूलाई बालुवाटारमा बोलाएर छलफल समेत गरेका थिए।

प्रकाशित: २१ असार २०७७ ०५:४३ आइतबार

नेकपा विवाद प्रचण्ड-माधव शितल निवास