राजनीति

कूटनीति धराशयी बनाउने खेल

अन्य सेवाबाट परराष्ट्रमा प्रवेश पाउने व्यवस्था

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले हालै अन्य सेवाबाट पनि परराष्ट्र मन्त्रालयको सचिव बन्ने बाटो खोलिदिएपछि यसको व्यापक आलोचना सुरु भएको छ।  

समितिले पारित गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा अन्य सेवाबाट पनि परराष्ट्र सचिव बन्न सक्ने व्यवस्था गरिएको छ। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले यसलाई बहुमतले पारित गरेपछि कूटनीतिक क्षेत्रका जानकारले मुलुकको कूटनीतिक सम्बन्धलाई कमजोर र धराशयी बनाउने खेल सुरु भएको आरोप लगाएका छन्।  

पूर्व परराष्ट्रसचिव एवं कूटनीतिक क्षेत्रका जानकार दुर्गाप्रसाद भट्टराई परराष्ट्र मन्त्रालयमा कूटनीतिको भरपुर अनुभव नभएको व्यक्ति सचिव हुने सम्भावना मात्रले पनि मुलुक अन्तर्राष्ट्रिय समुदायमा परिपक्व राष्ट्र नबनोस् भन्ने स्वार्थका पक्षमा जाने बताउँछन्। सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका छन्। त्यस्तै अर्का पूर्वपरराष्ट्रसचिव एव कूटनीतिक मामिलाका जानकार मधुरमण आचार्य राजदूत गतिलो नभए एउटा देशसँगको सम्बन्धमा मात्र असर पर्ने तर सचिव सक्षम नहुँदा मुलुकको समग्र अन्तर्राष्ट्रिय सम्बन्धमा असर पर्ने बताउँछन्। परराष्ट्रको सचिवमा अन्य सेवाबाट आउने विधेयकका सम्बन्धमा उठेका प्रश्नका सम्बन्धमा सामाजिक सञ्जाल ट्विटरमा उनले सम्बन्धित पेशाको तालिम, सीप, ज्ञान र अनुभव भएका व्यक्तिले राम्रो चलाउँछन् कि नभएकाले भन्दै प्रश्न गरेका छन्।  

कूटनीतिक मामिलाका जानकार रामबाबु ढकाल परराष्ट्र सेवाको अनुभव प्राप्त व्यक्ति र अन्य सेवाबाट आउने व्यक्तिको कार्यक्षमता र आत्मविश्वासमै अन्तर हुने बताउँछन्। उनी कुनै एउटा मुलुकमा राजदूत भएर जाने सन्दर्भमा त परराष्ट्र क्षेत्रको र अन्य क्षेत्रको व्यक्तिको काम गर्ने शैलीमा धेरै अन्तर हुने भन्दै समग्र परराष्ट्र मामिलाको नेतृत्व गर्ने व्यक्ति अन्य सेवाबाट आउँदा त्यसको असर समग्र कूटनीतिक क्षेत्रमा पर्ने बताउँछन्। अन्य सेवाबाट परराष्ट्रको नेतृत्वगर्न आउने व्यक्तिलाई यस विषयमा बुझ्नै लामो समय लाग्ने भएकाले त्यस्ता व्यक्तिबाट परराष्ट्र मामिला सञ्चालन व्यवस्थित ढंगले गर्न नसक्ने ढकाल बताउँछन्। अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय स्वार्थबारे कुराकानी गर्दा परराष्ट्र सचिवको पृष्ठभूमिले पनि ठूलो अर्थ राख्ने ढकालको भनाइ छ।  

परराष्ट्रमन्त्रालयका एक उच्च अधिकारीको तर्क पनि ढकालको तर्कसँग मिल्दो छ। उनी परराष्ट्रसेवा विशिष्ट सेवा भएकाले अन्य क्षेत्रबाट नेतृत्व ल्याउँदा त्यसको असर मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा पर्ने बताउँछन्। उनी परराष्ट्र सेवामा कति अनुभवी व्यक्ति हो भन्ने कुराले अन्य मुलुकसँगको कूटनीतिक ‘डिल’मा अर्थ राख्ने बताउँछन्। अनुभव नभएको व्यक्तिले कूटनीतिक ‘डिल’ गर्दा अर्काे मुलुकसँग लेनदेनमा असर पर्ने उनी बताउँछन्। ‘सम्बन्धित क्षेत्रको अनुभव नभएको व्यक्तिले परराष्ट्र मन्त्रालयको नेतृत्व गर्दा अन्य मुलुकसँग डिल गर्दा नेपालले प्राप्त गर्ने भन्दा गुमाउने कुरा धेरै हुन्छ,’ उनले भने।  

पछिल्लो समय नेपालको परराष्ट्र मन्त्रालयको कार्यक्षमताबारे प्रश्न उब्जिरहेका बेला नेतृत्वमै अन्य सेवाबाट ल्याउँदा त्यसले मुलुकाके कूटनीतिलाई कमजोर र धराशयी बनाउने उनी बताउँछन्। ‘अनुभव नभएको व्यक्तिले आफ्नो मुलुकको हित र स्वार्थको रक्षा गर्न सक्दैन, त्यसको क्षति मलुकले व्योहोर्नुपर्छ,’ उनले भने। अन्तर्राष्ट्रिय अभ्यासमा पनि परराष्ट्र सेवालाई विशिष्ट सेवाका रूपमा हेर्दै सम्बन्धित क्षेत्रबाट मात्रै नेतृत्वमा जाने प्रावधान रहेको उनी बताउँछन्।

प्रकाशित: १९ असार २०७७ ०३:२१ शुक्रबार

प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समिति