राजनीति

संसद् छल्दै सरकार, अधिवेशन अन्त्य गर्दै

केपी ओली नेतृत्व सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै सडकदेखि सदनसम्म आलोचना भइरहेको छ। सरकारको कामलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पनि तीव्र असन्तुष्टि देखिएको छ। सदनमा असन्तुष्टिका स्वर चुलिँदै गएपछि त्यसलाई छल्न सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको हो।  

प्रमुख प्रतिपक्षीसहित विपक्षी दलले संसद्मा उठाएका प्रश्न मात्र नभएर आफ्नै पार्टीका नेताहरूले पनि सरकारको कार्यशैलीको आलोचना गर्दै आएका छन्। त्यसको सामना गर्न असफल हुँदै गएको सरकारले कोरोनाको जोखिम देखाउँदै संसद् अधिवेशन अन्त्यको तयारी गरेको छ। तीन दर्जनभन्दा बढी विधेयक अलपत्र रहे पनि सरकारले  

संसद्मा कुनै बिजनेस दिन सकेको  

छैन। ‘सरकार संसद्मा उठाइने प्रश्नको सामना गर्ने अवस्थामा छैन,’ सत्तारूढ दलकै एक सांसदले भने, ‘पार्टीभित्रको आन्तरिक विवाद र विपक्षीको आक्रमण झेल्नुभन्दा अधिवेशन नै अन्त्य गर्न सहज देखेपछि अधिवेशन अन्त्यको छलफलमा छ।’  

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच पनि अधिवेशन अन्त्यका विषयमा छलफल भएको ती नेताले जानकारी दिए। प्रधानमन्त्री ओली अमेरिकी अनुदान सहयोग (एमसिसी)का विषयमा पार्टीभित्र सहमति जुटाउन सके जारी अधिवेशनबाटै पारित गर्ने पक्षमा छन्। तर, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू विपक्षमा देखिएपछि जारी नेकपाको स्थायी कमिटी बैठक एमसिसीको विपक्षमा उभिनसक्ने सम्भावना बढेर गएको छ। सत्तारूढ पार्टी र सरकार दुवै मिलेको सुनाउँदै विपक्षी दलका एक नेताले भने, ‘सरकार संसद् छल्न खोजिरहेको छ। पार्टीका नेताहरू एमसिसीलाई रोक्न खोज्दैछन्। दुवैको स्वार्थ मिल्दा संघीय संसद् अधिवेशन छिट्टै अन्त्य हुने देखिएको छ।’

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले संघीय संसद्को जारी अधिवेशन छिट्टै अन्त्य गर्नेगरी छलफल भइरहेको बताइन्। जारी अधिवेशनको मुख्य काम बजेट पारित गर्ने भएको जनाउँदै सचेतक चौधरीले भनिन्, ‘यो अधिवेशनको मुख्य काम बजेट पारित गर्नु हो। त्यो काम सकिएकाले तत्काल अधिवेशन अन्त्य गर्दा राम्रो हुन्छ।’

कोरोना भाइरसको कहर बढ्दै गएको जनाउँदै चौधरीले भनिन्, ‘कतिपय माननीय जिल्ला जाँदै आउँदै गर्दा अरू माननीयहरू पनि डराराइरहनु भएको छ। सकेसम्म छिटो अन्त्य गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ।’ संसद् अधिवेशन अन्त्य गर्ने अधिकार सरकारको भएको भन्दै उनले प्रधानमन्त्री र सभामुखका साथै पार्टीका प्रमुख सचेतकले पनि अधिवेशन अन्त्यका विषयमा छलफल भइरहेको बताइन्। संसद्को कार्य व्यवस्था समिति बैठकमा अधिवेशन अन्त्यका विषयमा छलफल हुने उनको भनाइ छ।  

नेपाली कांग्रेस संसद् बैठकलाई निरन्तरता दिने पक्षमा रहेको बताउँदै प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘जारी अधिवेशन अन्त्यका विषयमा हामीसँग छलफल भएको छैन।’ संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, लोकसेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहित संघीय संसद्को दुवै सदनका समितिमा २१ विधेयक छलफलमा छन्।

प्रकाशित: १४ असार २०७७ ०१:५२ आइतबार

सरकार संसद्