राजनीति

किन स्थगित गरियो १७ गतेसम्म संसद् बैठक ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) स्वीकार गर्ने कि नगर्ने भन्ने तीव्र विवाद भइरहेका बेला प्रतिनिधिसभाको बैठक असार १७ गते बस्नेगरी स्थगित भएको छ। असार १६ गतेभित्र संसद्बाट एमसिसी पास गरिसक्नुपर्ने बताइएका बेला सभामुख अग्निप्रसाद सापकोटाले बैठक असार १७ गतेका लागि मात्र बोलाएका हुन्।

सभामुख सापकोटानिकट सत्तारूढ दल त्यसमा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू एमसिसीको पक्षमा खुलिसकेका छैनन्। पार्टीका अधिकांश नेताहरू विपक्षमा उभिएका बेला दाहालनिकट मानिएका सभामुख सापकोटाले संसद् बैठक एमसिसी पारित गर्नुपर्ने समय गुजारेर राखेको स्रोतको दाबी छ।

तर, संसद् सचिवालय र सभामुखनिकटहरूले पनि बर्खे अधिवेशनको महत्वपूर्ण काम सकिएको जनाउँदै संघीय संसद्को दुवै सदनबाट पारित आर्थिक विधेयक प्रमाणित गर्नका लागि तीन दिन समय लिएको दाबी गरे। शुक्रबारसम्म आर्थिक विधेयक प्रमाणित गर्नका लागि नै समय चाहिनेछ,’ सभामुखनिकट एक अधिकारीले भने, ‘शनिबार बैठक राख्ने प्रचलन छैन। १४ गते तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीको स्मृति दिवस भएकाले सत्तारूढ दलबाटै बैठक  नराख्न आग्रह भएको थियो। १५ गते धान दिवास हो १६ गते एक दिन जिल्ला पुगेका सांसदलाई काठमाडौं आउन र कोरोनाको परीक्षण गर्न समय दिइएको हो।’

तर, एमसिसी पारित गराउनुपर्ने पक्षमा देखिएका सत्तारूढ दलकै सांसदहरूले सभामुखले विभिन्न बहाना बनाएर त्यसलाई टार्ने प्रयास गरेको आरोप लगाए। तत्कालीन माओवादीका नेता कृष्णबहादुर महरा सभाुमख भएका बेलामा पनि विभिन्न बहाना बनाएर टार्दै आएको सुनाउँदै ती नेताले भने, ‘मुलुकको आर्थिक विकासका लागि आएको ठूलो धनरासीलाई तुहाउने खेल हो यो।’

संसदको बैठक कहिले राख्ने भन्ने अधिकार सभामुखमै रहेको बताउँदै जनता समाजवादी पार्टीका नेता एवं सांसद लक्ष्मणलाल कर्णले बैठक राख्ने विषयमा छलफल नभएको बताए। ‘बैठक राख्ने अधिकार सभामुखको हो यस विषयमा हामीसँग केही छलफल भएको छैन,’ उनले भने, ‘उहाँको मनमा के के कुरा छ थाहा भएन।’  

एमसिसीबारे पार्टीभित्र विवाद पेचिलो बन्दै गएपछि नेकपाले त्यस विषयमा निर्णय लिन बुधबारका लागि बैठक बोलाएको छ।

प्रकाशित: १० असार २०७७ ०२:४० बुधबार

संसद् बैठक