राजनीति

‘सरकार भष्ट्राचारको संरक्षक’

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले ३३ किलो सुनकाण्ड र सेक्युरिटी प्रिन्टिङ प्रेसलगायतका विषयमा अझै छानबिन नगरी बसेकाले सरकार पूर्ण रूपमा भष्ट्राचारको संरक्षक प्रमाणित भएको बताए ।

उनले भने, ‘हामीले कहाँ सहयोग गरेनौं ? सेक्युरिटी प्रिन्टिङबारे अहिले बेला होइन भन्याैं। अहिले छताछुल्ल भएको छ । मन्त्रीले त ७० करोड रुपैयाँ माग्नुभयो भनेर आज राजीनामा दिएको अवस्था छ । यो सरकारको नैतिकता कहाँ छ ? अझ प्रतिपक्षले सहयोग गरेन, प्रतिपक्ष अहिष्णु भयो भनेर भन्नुहुन्छ । लोकलाज त राखिदिनुहोस् प्रधानमन्त्रीज्यू ।’

उनले सरकारले केही पनि काम गर्न नसक्ने तर त्यसको दोष कांग्रेसलाई लगाउने गरेको बताए । काम गर्न नसक्ने प्रधानमन्त्रीले प्रतिपक्षले काम गर्न दिएन भन्ने अभिव्यक्ति दिन लोकलाज मान्नुपर्ने उनकाे भनाइ थियो ।  

उनले भने, ‘प्रधानमन्त्रीज्यू लोकलाज त राख्नुस्, कांग्रेसले कहाँ सहयोग गरेको छैन ? वाइडबडीमा भष्ट्राचार भएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा अनियमितता भएको छ ।’

त्यस्तै, उनले सरकारले कोरोना रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताए । सरकारले केही काम गर्न नसक्ने र १० अर्बको खर्च देखाउने गर्दा नागरिकहरु आफैं सडकमा उत्रिएको उनको भनाइ थियो । उनले नेपाल एयरलाइन्स चार्टर्ड गर्ने नाउँमा ६-७ गुणा बढी पैसा पीडितबाट असुलेको आरोप  लगाए । सरकारका यस्ता गतिविधिका कारण नागरिक आफैं सडकमा आई सरकार फाल्नुपर्ने अवस्था आयो भने लोकतान्त्रिक पार्टीका लागि शुभसंकेत नहुने बताए ।

उनले भने, ‘आज नेपाल एयरलाइन्सको प्लेन चार्टर्डको नाउँमा यहाँका ट्राभल एजेन्सीहरुबाट ६-७ टाइम्सभन्दा बढी पैसा असुली भइरहेको छ । सरकारले जनतालाई जे भने पनि हुने ? जनताले सहिरहनुपर्ने ? फेरि हामी चुप लाग्नुपर्ने ? अवस्था अत्यन्त भयावह छ । यदि सडकबाट जनताले सरकार फाल्नुपर्‍यो भने लोकतान्त्रिक पार्टीका लागि शुभसंकेत हुँदैन  भन्ने स्थिति आइसकेको छ ।’

प्रकाशित: ३२ जेष्ठ २०७७ ०६:५५ आइतबार

सरकार