राजनीति

मौन प्रदर्शनमा मागियो प्रधानमन्त्रीको राजीनामा

प्रदर्शन गर्दै युवाहरू । तस्बिर : उमेश पुन/नागरिक

पोखरेली युवाहरूले प्रधानमन्त्रीको राजीनामा मागेका छन् । कोरोना महामारीको प्रभावकारी नियन्त्रणका लागि क्वारेन्टिन व्यवस्थित गर्न, कोरोना परीक्षणमा आरडिटी बन्द गरी शतप्रतिशत पिसीआर गर्न, भ्रष्टाचार लगायतविरुद्ध पोखरेली युवा समूहले आयोजना गरेको एक घन्टे प्रदर्शनमा युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका हुन् ।

शान्तिपूर्ण तथा मौन प्रदर्शन भनिए पनि कार्यक्रममा सहभागी युवाहरूले कोरोना रोकथाम, भ्रष्टाचार नियन्त्रण लगायतमा सरकार असफल भएको भन्दै उनीहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । उनीहरूले ‘केपी बाको पाराले, दुःख पाए साराले’, ‘केपी ओली राजीनामा दे’, ‘सरिता गिरी मुर्दावाद’ भन्दै नारासमेत लगाए । शान्तिपूर्ण तथा मौन प्रदर्शन भनिए पनि प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन हुन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो, त्यसकारण केहीबेर प्रहरी–प्रदर्शनकारीबीच सामान्य झडपसमेत भयो । झडपका क्रममा प्रहरीले नाराबाजीको नेतृत्व गरेका एक युवकलाई पक्राउ गरेको छ ।

नाराबाजी र झडपमा आफूहरूको संलग्नता नरहेको आयोजकले जनाएको छ । आफूहरूको योजना र नीतिविपरीत नाराबाजी भएको बताउँदै यसमा कुनै राजनीति दलका युवाहरूको घुसपैठ भएको हुन सक्ने आयोजकमध्येकी एक सलिजा श्रेष्ठले बताइन् । ‘हामीले नितान्त शान्तिपूर्ण र मौन प्रदर्शन गरेका हौं,’ उनले भनिन्, ‘यसको जिम्मा हामी लिन सक्दैनौं ।’ उनले आफूहरूको एजेन्डा नितान्त स्वास्थ्य सेवा सरल, सहज, भरपर्दो र गुणस्तरीय हुनुपर्ने मात्र भएको स्पष्ट पारिन् ।

स्वतन्त्र पोखरेली युवा नाम दिएर पोखराको राष्ट्रबैंक चोकदेखि सहिदचोकसम्मको दूरीमा पूर्वाह्न ११ बजेदेखि मध्याह्न १२ बजेसम्म गरिएको एक घन्टे कार्यक्रममा सहभागीहरूले ‘क्वारेन्टिन व्यवस्थित बनाऊ’, ‘अव्यवस्थित क्वारेन्टिन बन्द गर’, ‘कोरोना परीक्षणमा शतप्रतिशत पिसिआर गर’, ‘आरडिटी बन्द गर’, ‘जनता करको मारमा, सरकार करोडौंको कारमा’, ‘सरकारसँग थियो अलिकति आस, क्वारेन्टिनमा कुर्दाकुर्दा गयो सास’, ‘कर केका लागि ?’ ‘गरिखाने वातावरण बनाऊ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

कोभिड–१९ ग्रुपमा भएका पोखरेली युवाहरूले स्वतःस्फूर्त रूपमा प्रदर्शन गरेको श्रेष्ठले जानकारी दिइन् । काठमाडौंमा भएको प्रदर्शनबाट आफूहरू प्रभावित भएर स्वतन्त्र रूपमा कुनै दल, एनजिओ तथा आइएनजिओमा नरहेकाहरू मिलेर कार्यक्रम गरेको उनले प्रस्ट्याइन् ।

प्रकाशित: ३० जेष्ठ २०७७ ००:०० शुक्रबार

प्रधानमन्त्रीको राजीनामा मौन प्रदर्शन