राजनीति

थिति बिगार्दै सचिव बढुवा

सरकारले वरिष्ठताको आधारमा सहसचिवबाट सचिवमा बढुवा हुने प्रणाली मिच्दै विष्णुप्रसाद नेपाललाई बढुवा गरेको छ । उच्च अधिकारीहरूको स्वार्थमा विगतको परम्परा भत्काउँदै सरकारले नेपाललाई सचिव बढुवा गरेपछि निजामती प्रशासनको थिति बिग्रने भएको हो ।  

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठताका आधारमा चौथो नम्बरमा रहेका नेपाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पदबाट अनिवार्य अवकाश लिएसँगै रिक्त रहेको सचिव पदमा वरिष्ठ सहसचिवहरू मानबहादुर विके र गोकर्णमणि दुवाडीलाई पन्छाउँदै उनलाई बढुवा गरिएको छ ।  

विके २०६७ फागुन २९ मा सहसचिवमा नियुक्त भएका थिए । त्यस्तै दुवाडी २०६७ फागुन २९ मा नै सहसचिव भएको सामान्य प्रशासन मन्त्रालयको विवरणबाट देखिन्छ । तर अहिलेसम्मको परम्परा वरिष्ठताको आधारमा सचिवमा बढुवा भइरहेकोमा मुख्य सचिव लोकदर्शन रेग्मीको डिजाइनमा चौथो नम्बरमा रहेका विष्णु नेपाललाई बढुवा गरेर परम्परा भत्काएको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरूको आरोप छ ।

नेपाल २०६७ चैत १ मा सहसचिव नियुक्त भएका थिए । सोही दिन सहसचिव भएका तेजराज पाण्डे उनीभन्दा वरियतामा एक स्थान माथि छन् ।

नेपाल मुख्य सचिव रेग्मीका गाउँले तथा नातेदार भएको र जागिर अवधि एक वर्ष पनि बाँकी नरहेकाले उनकै चलखेलमा निजामती सेवामा चलिरहेको ट्रेन्ड भत्काएर बढुवा गरिएको प्रधानमन्त्री कार्यालयका ती अधिकारीहरूको गुनासो छ । नेपालको पदावधि आगामी चैत २ गतेसम्म भएकाले पनि मुख्य सचिव रेग्मीले जोडबलमा सचिवमा बढुवा गरेको उनीहरूको बुझाइ छ ।  

वरिष्ठ सहसचिव विके हरेक हिसाबले सचिव हुन योग्य भए पनि रेग्मीको चलाखीले नेपाललाई बढुवा गराउन सफल भएको स्रोतले बतायो । वरिष्ठ सहसचिव दोस्रो वरियतामा रहेका दुवाडी भने बढुवा भएका छैनन् । यसले प्रशासनिक वृत्तमा हल्लीखल्ली मच्चिएको छ ।

पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विगतको अभ्यास ख्याल गरेर सचिव बढुवा गर्नुपर्ने बताए । सचिव बढुवाको महत्वपूर्ण वरिष्ठता  आधार भएको बताउँदै उनले भने, ‘योग्यतम्लाई सचिव बनाउने अधिकार क्याबिनेटलाई छ तर त्यसको प्रस्ट कारण दिन सक्नुपर्छ वरिष्ठता मिचेर सचिव बढुवा गर्दा यो कारणले योग्य हो भनेर प्रस्ट पार्नुपर्छ ।’ 

प्रकाशित: २८ जेष्ठ २०७७ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App