राजनीति

लोकसेवाको अन्तर्वार्तामा सहभागी हुन कोरोना परीक्षण रिपोर्ट अनिवार्य

लोकसेवा आयोगद्धारा सन्चालित अन्तर्वार्तामा सहभागी हुन कोरोना परीक्षण रिपोर्ट देखाउनुपर्ने भएको छ। आयोगले काठमाडौं उपत्यका बाहिर गएका कर्मचारीहरुलाई परीक्षामा उपस्थित हुन कोरोना परीक्षण रिपोर्ट अनिवार्य गरेको हो।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीका अनुसार लोकसेवाको अन्तर्वार्ता तथा प्रस्तुतिकरण कार्यक्रममा सहभागी हुने उम्मेद्धारमध्ये काठमाडौं बाहिर गई आएका उम्मेद्धारहरुलाई अन्तर्वार्ता अगावै कोरोना परीक्षण रिपोर्ट अनिवार्य गरिएको हो। ‘सोमबार प्रकाशित कार्यतालिका अनुसार सहसचिव तहको अन्तर्वार्ता परीक्षामा सहभागी हुने उम्मेद्धारमध्ये काठमाडौं बाहिर कार्यरत वा काठमाडौं बाहिर गै आएका उम्मेद्धारले परीक्षा अगावै आफ्नो कोभिड १९ पीसीआर परीक्षण गराई सक्कल रिपोर्ट आयोगको परीक्षा शाखामा बुझाउनुहोला,’ आयोगले भनेको छ।  

आयोगले कोरोना जोखिमका कारण विभिन्न तहका लिखित परीक्षा भने स्थगित गरिसकेको छ। सरकारले आर्थिक बर्ष २०७७/७८ मार्फत अत्यावश्यक बाहेक सवै पदपूर्ती रोक्ने सार्वजनिक गरिसकेको छ। तर आयोगले भने परीक्षाको चरणमा प्रवेश गरिसकेका पदहरुको स्थिती सामान्य भएपछि बाँकी पदपूर्ति प्रक्रिया सन्चालन गर्ने बताएको छ। आयोगका अनुसार यो सँगै अव हुने अन्तर्वार्ता परीक्षामा सहभागी हुन कोरोना परीक्षण रिपोर्ट अनिवार्य हुनेछ।  

 

प्रकाशित: २० जेष्ठ २०७७ १३:११ मंगलबार

कोरोनाभाइरस लोकसेवा आयोग