राजनीति

राजपा र समाजवादी पार्टीको संविधान संशोधन विधेयक दर्ता

राष्ट्रिय जनता पार्टी (राजापा) र समाजवादी पार्टीले संविधान संशोधन विधेयक दर्ता गराएका छन्। सोमबार राजापको तर्फबाट प्रमुख सचेतक लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीको तर्फबाट सांसद राजेन्द्र प्रसाद श्रेष्ठले संसद सचिवालयमा विधेयक दर्ता गरेका हुन्।  

विधेयक दर्ता पछि राजपा नेता लक्ष्मणलाल कर्णले सरकारले आफ्नो तर्फबाट संविधान संशोधनका प्रस्ताव लिएपनि आफुहरुले उठाउँदै आएका विषयहरु नसमेटेकाले गैरसरकारी विधेयक दर्ता गरिएको बताए। देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको अवस्थामा संवैधानिक निकाय र उच्च पदस्थ व्यक्तिहरुमाथि पनि छानबिन गर्न सक्ने गर्ने गरी लोकपालको व्यवस्था गर्नुपर्ने माग आफुहरुको रहेको उनले बताए। संवैधानिक निकाय बाहेक विभिन्न आयोग र राजदूत नियुक्त गर्दा समानुपातिक समावेशिता हुनुपर्ने विषय पनि आफुहरुले उठाउँदै आएको उनले बताए।  

प्रदेशको संख्या हेरफेरका लागि आयोग बनाउनुपर्ने, प्रदेशको सिमाङ्कन हेरफेर गर्दा सबै प्रदेशको सहमति अवश्यक नहुने, बैवाहिक अंगिकृत नागरिकताको विषयमा संविधानमा उल्लेख हुनुपर्ने माग आफुहरुको रहेको उनले बताए। सरकारले आफ्ना कुराहरु सम्बोधन गर्न चासो नदेखाए सरकारले अघि सारेको संशोधनको पक्षमा आफुहरु मतदान गर्न बाध्यन नहुने उनले बताए। यसअघि शुक्रबार राजपाका तर्फबाट नेता महन्थ ठाकुरले संशोधन विधेयक दर्ता गर्दा सचिवालयले अध्ययन गरेर मात्रै दर्ता हुने जवाफ दिएपछि दर्ता भएको थिएन। शुक्रबार राजपाले संशोधन दर्ता गर्दा समाजवादी पार्टीको सहभागिता पनि थिएन।

 

प्रकाशित: १९ जेष्ठ २०७७ १५:४४ सोमबार

संविधान संशोधन