राजनीति

भारतीय मिडियामा प्रकाशित समाचारप्रति सेनाको आपत्ति

नेपाली सेनाले भारतीय मिडियामा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ। सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाली सेनालाई जोडेर भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा शिशिर गुप्ता र टिफि पोस्ट डटकममा अक्षय नारंगद्वारा लिखित सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ। उक्त सामग्री भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार भएको नेपाली सेनाको भनाइ छ।

उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका सेनाहरूबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पु¥याउने उद्देश्यबाट प्रेरित रहेको सेनाले जनाएको छ। राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने मनसायले समाचार प्रकाशित भएको सेनाले जनाएको छ।

उक्त विषयमा उपप्रधान तथा रक्षामन्त्रीबाट समेत धारणा सार्वजनिक भइसकेको भन्दै नेपाली सेना नेपालको संविधानअनुरूप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैब कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

भारतीय मिडियामा भारतीय सेना प्रमुखले नेपालका विषयमा दिएको अभिव्यक्ति खण्डन गर्न नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई भनेकोमा थापाले अस्वीकार गरेको दाबीसहित नयाँ राजनीतिक नक्साका विषयमा प्रधानमन्त्री ओलीलाई झड्का शीर्षकका समाचार प्रकाशित भएका थिए।

प्रकाशित: १७ जेष्ठ २०७७ ०३:०० शनिबार

नेपाली सेना भारतीय मिडिया