राजनीति

आयोग नपुग्दै जनता समाजवादीको एकता भत्कने अवस्थामा

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएर गठन भएको जनता समाजवादी पार्टीमा नेतृत्वको विषयमा गम्भीर मतभेद देखिएको छ । पार्टी एकीकरणको काम नसकिँदै पार्टी नेतृत्वका विषयमा विवाद उत्पन्न हुँदा एकता प्रक्रिया नै गम्भीर मोडमा पुगेको हो ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता महन्थ ठाकुरलाई नवगठित पार्टीमा पहिलो मर्यादामा राख्न सबै नेताहरू सहमत भएका छन् । तर, उनलाई पार्टी अध्यक्ष नभएर संयोजक मात्र मान्न नेताहरू राजी देखिएका छन् । पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी उपेन्द्र यादव आफैं चाहन्छन् । तत्कालीन राजपाका नेताहरूले भने जनता समाजवादीमा दुई सदस्यीय अध्यक्ष मण्डल बनाउन प्रस्ताव गरेका छन्, जसमा पहिलो अध्यक्ष ठाकुर र दोस्रो तत्कालीन समाजवादीका बाबुराम भट्टराई या यादवलाई ।

तत्कालीन समाजवादीको प्रस्तावमा ठाकुरलाई संयोजक, भट्टराईलाई राष्ट्रिय परिषद्को अध्यक्ष तथा यादवलाई कार्यकारिणी समितिको अध्यक्ष बनाउने भनिएको छ । गत बिहीबार नेतृत्वको विवाद मिलाउन दुवै पक्षको गम्भीर बैठक बसेको थियो । बैठकमा दुवै पक्ष एक इन्च पनि आफ्नो अडानबाट पछि हटेनन् । स्रोतका अनुसार, बैठक टुंगिने बेलामा यादवले तत्कालीन राजपाका नेताहरूलाई लक्षित गर्दै भने, ‘तपाईहरूले एकता नचाहेको जस्तो देखिन्छ । 

आफ्नो प्रस्तावमा लचिलो हुनु भएन भने एकता नचाहेको बुझिन्छ ।’ त्यसको जवाफमा राजेन्द्र महतोले भने, ‘तपाईहरूको पार्टी फुट्न लाग्दा हामीले जोगायौं । अब तपाईहरू नै एकताबाट पछि हट्न खोजेको देखिन्छ ।’ बिहीबारदेखि तत्कालीन दुई पार्टीका नेताहरूको संयुक्त बैठक बस्न सकेको छैन । त्यसको भोलिपल्टै शुक्रबार दुवै पार्टीले आन्तरिक बैठक बोलाए । राजपाले अध्यक्ष मण्डलको बैठक बोलायो भने उपेन्द्रले उपलब्ध पदाधिकारीको अनौपचारिक बैठक बोलाए ।  

स्रोतका अनुसार नवगठित पार्टीमा दुईजना मात्र अध्यक्ष राख्ने राजपाको प्रस्तावमा यादव केही लचिलो भएका छन् । तर, दुई अध्यक्षमा राजपाबाट ठाकुर र समाजवादीबाट आफैं रहने यादवको चाहना रहेको यादवनिकट स्रोतले बतायो । ठाकुरलाई संघीय परिषद्को अध्यक्ष र आफूलाई कार्यकारिणी समितिको अध्यक्ष राख्न यादवको चाहना रहेको यादव निकट एक नेताले बताए । तर, यादवको यस्तो चाहनामा तत्कालीन नयाँ शक्ति पार्टीका नेताले गम्भीर असन्तुष्ट पोखेका छन् ।

भट्टराईको मर्यादा यादवकोभन्दा माथि हुनुपर्ने र उनलाई राष्ट्रिय परिषद्को अध्यक्षको जिम्मेवारी दिनुपर्ने भट्टराई निकट नेताहरूको अडान छ । तत्कालीन समाजवादीमा भट्टराईलाई राष्ट्रिय परिषद्को अध्यक्ष तथा यादवलाई कार्यकारिणी समितिको अध्यक्षको जिम्मेवारी दिइएको थियो । तत्कालीन समाजवादीमा भट्टराईको मर्यादा यादवको भन्दा माथि थियो । तर, अहिले भट्टराईको मर्यादामा यादवको भन्दा मुनि राख्न सह्य नहुने अडान भट्टराई निकट नेताहरूको छ ।  

राजपाका नेताहरूले ७ सय ५१ सदस्यीय केन्द्रीय समिति, १ सय ५१ सदस्यीय राजनीतिक समिति र ५५ सदस्यीय कार्यकारिणी समिति बनाउन प्रस्ताव गरेका छन् । यसमा भने तत्कालीन समाजवादीका नेताहरू सकारात्मक रहेको स्रोतको भनाइ छ । वैशाख १० गते मध्यरातमा तत्कालीन राजपा रसमाजवादीबीच छलफल भइ जनता समाजवादी पार्टी गठन गर्ने सहमति भएको थियो ।

त्यसको भोलिपल्टै नवगठित पार्टीका नेताहरू निर्वाचन आयोग र संसद् सचिवालय गई पार्टी एकीकरण गरेको जानकारी गराएका थिए । कानुनअनुसार आयोगमा निवेदन दिएको ४५ दिनभित्र पार्टी एकीकरणका लागि आवश्यक डकुमेन्ट बुझाउनुपर्छ । डकुमेन्ट बुझाउन ४५ दिन कट्दै छ, तर पार्टीमा सहमति हुने अवस्था टाढिँदै गएको छ ।  

संविधान संशोधनमा आफ्नो अजेन्डा ब्युँझाउने दाउ

सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पुरानो अजेन्डालाई ब्युँझाउने जनता समाजवादीका नेताहरूको दाउ छ । यसका लागि उनीहरूले पहल सुरु गरेका छन् ।  आफ्नो अभियानमा साथ दिन उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटेका छन् । 

सरकाले ल्याउन लागेको संशोधन प्रस्तावमा संविधानको अनुसूची ३ को संशोधनको प्रस्ताव मात्र आउने सरकारनिकट नेताले बताएका छन् । आफ्नो अजेन्डालाई समावेश नगरी ल्याइएको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने कि विरोध गर्ने भन्नेबारे भने जनता समाजवादीका नेताहरू केही बोल्न चाहन्नन् । यस विषयमा पार्टीमा निर्णय नभएको जनता समाजवादीका नेता केशव झाले बताए ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०८:४९ मंगलबार

जनता समाजवादी एकता पार्टी एकीकरण