राजनीति

कांग्रेस नेता चौधरीको निधन

काठमाडौं नेपाली कांग्रेस नेता एवं पूर्वराज्यमन्त्री दुर्योधनसिंह थारु चौधरीको शुक्रबार बुटवलस्थित गौतम बुद्ध सामुदायिक  अस्पतालमा निधन भएको छ । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका चौधरीको ७० वर्षको उमेरमा निधन भएको हो ।  

उनी २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा रुपन्देही–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । स्थानीय विकास राज्यमन्त्री, आपूर्ति सहायकमन्त्री र महिला तथा सामाज कल्याण सहायक मन्त्रीको जिम्मेवारी सम्हालेका चौधरीले २०२८ सालमा भारतको बनारसबाट राजनीतिक यात्रा सुरु गरेका थिए । पार्टीको विभिन्न पदमा रहेर नेपालका लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय चौधरीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।  

‘स्वर्गीय चौधरीले नेपाली कांग्रेसको संगठन र नेपालका लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो,’ देउवाले भनेका छन्, ‘उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्व गुमाएको छ र अपूरणीय क्षति पुगेको छ ।’ उनका दुई पत्नी, तीन छोरा र एक छोरी छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि नेता चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  

प्रकाशित: ९ जेष्ठ २०७७ १८:५० शुक्रबार