राजनीति

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक

अब सबै ठाउँमा नयाँ सार्वजनिक भएको नक्सा प्रयोग गर्न आग्रह

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा सार्वजनिक गरेको छ। बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्दै सार्वजनिक गरेकी हुन्।

मन्त्रालयले तयार गरेको नक्सालाई सोमवार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । सरकारले आर्थिक वर्ष २०७७–७८ को वार्षिक नीति तथा कार्यक्रम गर्दै शीघ्र नक्सा सार्वजनिक गर्ने बताएको थियो । 

नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले आफू गौरवान्वित भएको बताइन्। ‘आज मलाई अत्यन्त खुसी लागेको छ,’ उनले भनिन्, ‘यसमा आम नेपालीले देखाएको चासोप्रति आभार व्यक्त गर्न चाहन्छु। अहिलेसम्म उपलब्ध प्रमाण र ऐतिहासिक तथ्यले देखाएको सत्यको भरमा हामीले यो कदम चालेका हौँ।’

उनले यो अवसर सिंगो नेपाल र नेपालीका लागि ऐतिहासिक क्षण रहेको बताइन्। ‘यो समय युगको सर्वाधिक स्मरणीय क्षण हो,’ मन्त्री अर्यालले भनिन्, ‘नेपालको मानचित्र बदलिएको छ, यसले नेपालीको मनोबललाई अझ उच्च बनाएको छ।’ मन्त्री अर्यालले अब सबै ठाउँमा नयाँ सार्वजनिक भएको नक्सा प्रयोग गर्न आग्रह गरिन्।

प्रकाशित: ७ जेष्ठ २०७७ ०८:५५ बुधबार

लिपुलेक नयाँ नक्सा