राजनीति

सत्तापक्षकै सांसदबाट नीति तथा कार्यक्रम विरोध

राष्ट्रिय सभाको बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का प्रवक्ता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले सरकारको नीति तथा कार्यक्रमले कोरोना भाइरस(कोभिड १९)पछि उत्पन्न परिस्थितिअनुसार राहत प्याकेज नल्याएको बताएका छन् । उनले नीति तथा कार्यक्रमले मानिस र अर्थतन्त्रलाई बचाउन सरकारको ध्यान कम गएको बताएका हुन् । शुक्रबार आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले राहत प्याकेजले मात्रै अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने बताए ।  

‘जुन कुरामा सरकारको ध्यान कम गएको हो वा पर्याप्त जान नसकेको हो वा मेरो समझदारीले भ्याउन नसकेको हो,’ उनले भने, ‘मान्छेलाई बचाउन र अर्थतन्त्रलाई बचाउन र चलायमान बनाउन राहत प्याकेज अनिवार्य हुन्छ ।’ उनले अहिले ध्यान नपुगेका विषयमा बजेटमा ध्यान दिन सुझाव दिए । नीति तथा कार्यक्रममा अलि लामो धेरै कुराहरू दोहोरिएको अवस्था रहेकाले यसलाई अलि छोटो बनाउनु पर्ने उनले बताए । उनले विपत् व्यवस्थापनलाई पनि नयाँ सिराबाट जोखिम न्यूनीकरण गर्न र व्यवस्थापन गर्न पहलकदमी गर्ने कुरालाई जोड दिएर योजना र कार्यक्रमको रुपमा राख्नुपर्ने बताए ।  

‘अहिलेको हाम्रो सरकारको नीति तथा कार्यक्रमले यो विषयमा ठोस रुपमा सबैलाई सन्देश दिनेगरी आफूलाई प्रस्तुत गर्न सकेको भए बेस हुन्थ्यो,’ उनले भने । उनले नीति तथा कार्यक्रम समाजवाद उन्मुख दिशातिर नेपालको विकासलाई अगाडि बढाउने र समाजवादको आधार निर्माण गर्ने कुरा सँगसँगै उल्लेख गर्नु आवश्यक भएको उनले बताए । उनले नीति तथा कार्यक्रममा प्राथमिकीकरण गर्दा पहिलो कोभिड–१९ रोकथाम, नियन्त्रण, उपचार र यसको निराकरणको वर्ष हो यो भनेर प्रस्ट रुपमा अगाडि बढाउनुपर्ने बताए ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०२:१० सोमबार

नीति तथा कार्यक्रम