राजनीति

राजेन्द्र महतोको आरोप : दुई तिहाइको सरकारले दुई कौडीको काम गर्न सकेन

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकार मानवताविरुद्धको अपराधमा केन्द्रीत भएको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल महतोले कोरोना संक्रमणबाट नेपालीको रक्षा गर्नुको सट्टा सरकार मानवताविरुद्धको अपराधमा लागेको आरोप लगाए । महामारीका समयमा जनताको जीवनरक्षाका लागि सारा उर्जा लगाउनुपर्नेमा सरकार पद बचाउनका लागि रातारात अध्यादेश ल्याउन र दल विभाजनका तर्फ लागेको उनले बताए ।

उनले भने, 'जनताको जीवनरक्षा कता हो कता, जनताले राहत र उपचार पाउनु त कता हो कता यहाँ त मावता विरुद्धको अपराध गर्न सरकार लागेको छ । पद पाउन र पद बचाउनका लागि अध्यादेश रातारात अध्यादेश ल्याइरहेको छ । पार्टी विभाजनका लागि लागेको छ । यो महामारीको बेलामा जनता जोगाउनुपर्ने सारा उर्जा त्यसमा लगाउनुपर्नेमा सरकार के गरिरहेको छ । के हो यो ?’

महामारीबाट पीडित जनताले उपचार र खाना नभएको उल्लेख गर्दै महतोले सरकार लोकतन्त्रलाई कमजोर पार्न र सांसद अपहरणको धन्दामा लागेको आरोप लगाए । जनताले आफ्नो जीवनको रक्षा गर्न र समस्याबाट राहत पाउनका लागि दुई तिहाइ दिएपनि सरकारले नबुझेको उनले बताए । नेता महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम समेत गर्न नसकेको उनको भनाई छ । उनले भने, 'दुई तिहाइको सरकारले दुई कौडीको काम गर्न सकेको छैन । जनता पीडामा रहेको बेला काम नगरेपछि के भन्ने ?’

सरकारले पर्याप्त मात्रामा परीक्षण गर्न नसकेको पनि उनले बताएका छन् । एक सय जना संक्रमित छन् भनेर सरकार ढुक्कसँग भनिरहेको भन्दै उनले 'सरकारले कोरोना सय नाघेको छैन भन्दैछ । कति जाँच गर्‍यौ र अनि कोरोना छैन’, भन्दै आक्रोश व्यक्त गरे ।

'जाँच नगर्ने, कछुवाको गतिमा कोरोनाको टेष्ट गर्ने ? व्यापक रुपमा परीक्षण हुनुपर्‍यो । हामी सांसदले हिजो परीक्षण गर्‍यौँ । कुनै सांसदमा निस्केन रे । जनताको चाँडै नगर्ने त्यो हामी निर्वाचन क्षेत्रमा जाँदा कोरोना बाँड्ने ? जाँच त हुनुपर्‍यो नी सरकारले गर्नुपर्ने काम गरिरहेको छैन’, उनले भने ।

प्रकाशित: २६ वैशाख २०७७ १२:५३ शुक्रबार

सरकार काम जनता आरोप