राजनीति

सरकारले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमायो : सभापति देउवा

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाएको बताएका छन्।

संसदको बजेट अधिवेशनमा बोल्दै देउवाले देशमा कोरोना त्रास भैरहँदा सरकारले उचित तरिकारले काम गर्न नसकेको आरोप लगाए। राहत पाउन पर्नेले राहत नपाएको भन्दै उनले श्रमिक, विद्यार्थी, मिडिया, पर्यटन क्षेत्र र व्यवसायीलाई राहतको घोषणा गर्न सरकारसँग माग गरे। श्रमिकलाई न खान दिने न गाउँ जान दिने काम भएको उनले बताए।

'अझै पनि स्वास्थ्य समाग्रीको अभाव हुने खरिदमा पारदर्शिता नहुनु अक्षमय छ', उनले भने, 'यो बेला अध्यादेश ल्याउनु र संसदको अपहरण हुनु गलत छ। अपहरणमा संलग्नलाई कारबाहीको माग गर्छु।'

सरकारले नै लोकतन्त्रमाथी धावा बोलेको उनको आरोप छ। सरकारले आफु भएको अनुभुति गराउन नसकेको भन्दै उनले सरकार पूर्णरुपमा असफल भएको बताए।

कोरोना परीक्षण न्यून भएको छ। परीक्षण समाग्रीबारे प्रश्न उठेको छ। विदेशमा रहेका नागरिकबारे योजना बनेको छैन।

विदेशमा अप्ठ्यारोमा रहेका नागरिकको उद्वार गर्नु सरकारको दायित्व भएको देउवाले बताए। उनले विदेशमा रहेका नेपालीबारे उचित कदम चाल्न सरकारसँग माग गरे। 'नेपाल आउन चाहनेलाई ल्याउने र आवश्यक क्वारेन्टाइनमा राख्न सरकारसँग माग गर्छु', उनले भने। जेलमा रहेकाहरुको उचित व्यवस्थापन गर्न उनले माग गरे। देउवाले आगामि बजेट कोरोना केन्द्रित हुनुपर्ने बताए।

 

प्रकाशित: २६ वैशाख २०७७ १०:४७ शुक्रबार

कांग्रेस सभापति सरकार संसद