राजनीति

विधान बनाउँदै जनता समाजवादी

काठमाडौं, – नवगठित जनता समाजवादी पार्टीले एकीकृत पार्टीको विधान निर्माणका लागि चार सदस्यीय विधान मस्यौदा समिति बनाएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबाट दुई–दुई नेता सहभागी विधान मस्यौदा समिति गठन गरेको हो । 

समितिमा राजपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण तथा समाजवादीबाट राजेन्द्र श्रेष्ठ र नवराज सुवेदी रहेका छन् । उनीहरूले आइतबारबाटै काम सुरु गरेको समितिका सदस्य कर्णले जानकारी दिए । चार÷पाँच दिनभित्र विधान मस्यौदा तयार गरेर पार्टी नेतृत्वलाई बुझाउने गरी काम थालेको उनले जानकारी दिएका हुन् ।

मस्यौदा समितिलाई सामूहिक नेतृत्वको अवधारणमा पार्टीलाई लैजाने गरी विधानको मस्यौदा बनाउन निर्देशन दिइएको छ । तर त्यो के हो स्पष्ट गरिएको छैन । 

यद्यपि नेताहरू नवगठित पार्टी अध्यक्ष मण्डलीय प्रणालीमा नजाने प्रष्ट पारेका छन् । ‘राजपाजस्तो अध्यक्ष मण्डल अब जनता समाजवादी पार्टीमा हुँदैन । यसमा हामी प्रष्ट छौं,’ जनता समाजवादी पार्टीका नेता शरत्सिंह भण्डारीले भने, ‘तर नवगठित पार्टीलाई सामूहिक नेतृत्वको अवधारणामा लैजानुपर्नेमा हामी सहमत छौं ।’ 

विधान मस्यौदा समितिले पार्टीको सांगठानिक संरचनाको खाका तयार गर्नेछ । वैशाख १० गते तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण हुँदा पहिलो अध्यक्षमा महन्थ ठाकुर र दोस्रो अध्यक्षमा बाबुराम भट्टराइलाई राख्ने मात्र सहमति भएको थियो । 

तत्कालीन राजपाको अध्यक्ष मण्डलमा रहेका अरू पाँच जना अध्यक्ष र तत्कालीन समाजवादीका उपेन्द्र यादव तथा अशोक राईको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा पार्टी एकीकरण हुँदा सहमति गरिएको थिएन । विधान मस्यौदा समितिले पार्टीका शीर्ष नेताहरूको कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा खाका बनाउने पार्टीका नेताहरूले जनाएका छन् । 

स्रोतका अनुसार विधान मस्यौदा समितिले पार्टीको केन्द्रीय समितिको आकार कस्तो बनाउने भन्ने विषयमा पनि टुंगो लगाउनेछ । केन्द्रीय समितिको आकार ठूलो बनाउन नहुनेमा जनता समाजवादी पार्टीका नेताहरू सहमत भएका छन् । 

स्रोतका अनुसार उक्त समितिलाई अर्को जिम्मेवारी पनि दिइएको छ । उक्त समितिले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने आवश्यक कागजाताहरू जुटाउनेछ । पार्टी दर्ताका लागि निवेदन दिएको ४५ दिनभित्रै सबै कागजाताहरू बुझाउनुपर्ने कानुनी व्यवस्था छ । पार्टी एकीकरण गर्ने सहमति भएको भोलिपल्टै वैशाख ११ गते तत्कालीन राजपा र समाजवादी पार्टीका नेताहरू निर्वाचन आयोग गई पार्टी एकीकरण गर्ने सहमति भएको जानकारी गराएका थिए ।

प्रकाशित: २२ वैशाख २०७७ ०४:४६ सोमबार

जनता_समाजवादी विधान