राजनीति

सरकारले जारी गरेकाे अध्यादेशको मन्त्री भट्टराईद्वारा बचाउ

ताप्लेजुङ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सरकारले हालै जारी गरेकाे २ वटै अध्यादेशको बचाउ गरेका छन् ।

सरकारले राजनीतिक स्थायित्वकै लागि अध्यादेश ल्याएको दावी गर्दै मन्त्री भट्टराईले यी अध्यादेशले राजनीतिक खिचातानीको अन्त्यमा भूमिका खेल्ने बताए । गृह जिल्ला ताप्लेजुङका सञ्चारकर्मीसंग बुधबार बिहान भिडियो कन्फरेन्समार्फत सम्बाद गर्दै मन्त्री भट्टराईले अध्यादेश कोरोना संक्रमणका लागि जारी अभियान प्रति लक्षित नभएकोले आत्तिनु नपर्ने दावी गरे ।

अध्यादेश वा कानुन सासकीय प्रकृयामा स्वभाविक भएको तर्क गर्दै यसबाट कोहि पनि उत्तेजित हुनु नपर्ने उनको भनाई थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका मन्त्री भट्टराईले जनमत, जिम्मेवारी र परिस्थतीले एकतालाई अझ बढी सम्बेदनशील बनाउन आम कार्यकतालाई आग्रह गरेका छन् । अध्यादेश कुनै दल बिशेष लक्षित नभएकोले अध्यादेशमार्फत राष्ट्र, जनता र राजनीतिक दलको भबिष्य थप ओजिलो बन्ने मन्त्री भट्टराईको बिश्वास थियो । उनले अध्यादेशलाई उचाल्ने र पछार्ने काममा प्रयोग नगर्न समेत कार्यकर्तालाई आग्रह गरेका छन् ।

सबै तहका सरकार, राजनीतिक दल, नागरिक समाज, संघसंस्था र आम नागरिकको भरपुर सहयोग र साथबाट कोरोनाबिरुद्ध बिजय हासिल हुने अहिले सम्मको परिणामका आधारमा यसकार्यले थप निरन्तरता पाउनुपर्ने भट्टराईले बताए । उनले सरकार सदैव सबैको साथ र सहयोगको सम्मानमा केन्द्रित हुँदै आएको बताउँदै आगामी दिनमा समेत यस कार्यको निरन्तरताको पक्षमा रहेको बताए ।

सबैले आ–आफ्नो जिम्मेवारी र दायित्वलाई पूरा गर्दै गएका कोरोना संक्रमणको सन्त्रासमाथि नेपालीले चाँडै बिजय प्राप्त गर्ने मन्त्री भट्टराईले बताए ।

 

प्रकाशित: १० वैशाख २०७७ ०६:०२ बुधबार

अध्यादेश दायित्व सरकार