राजनीति

जनताका समस्याप्रती सरकार बेखबर देखियाेः डा. महत

काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओली जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन्। कोरोना भाइरस बारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति टिप्पणी गर्दै सहमहामन्त्री महतले यस्तो बताएका हुन।

उनले सामाजिक संजालमा लेखेका छन ‘प्रधानमन्त्रीद्वारा बैशाख ७ गते सरकारी संचार माध्यममार्फत सार्वजनिक अभिव्यक्तिका केही अंशले वर्तमान सरकार र प्रधानमन्त्री जनताले भोगेका चरम कष्टप्रती कति असंवेदनशिल र बेखर छ भन्ने प्रष्ट गर्दछ।’

हजारौंको संख्यामा गाँस बासको समस्याले पीडित नागरिकहरु कयौं दिन लगाएर हिडेरै घर जान बाध्य भएको परिस्थिति समेत सरकारी संयन्त्रलाई थाहै नहुनु गैर जिम्मेवारीको पराकाष्ठा भएको सहमहामन्त्री महतको ठहर रहेको छ।

जनताका उक्त समस्यालाई संचार माध्यमहरुले सरकारको ध्यानाकर्षण गराउदा समस्या समाधान तर्फ उन्मुख हुनुको साटो सो सम्बन्धि समाचार रहस्यमय ठानेकोप्रति सहमहामन्त्री महतले आपत्ति पनि जनाएका छन।

प्रकाशित: ८ वैशाख २०७७ ०६:३४ सोमबार

प्रकाशशरण_महत सरकार