राजनीति

वाग्मती प्रदेशमा आगामी बजेटबारे छलफल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हेटौंडामा बसेको बैठकमा सहभागीहरु। तस्बिरः मुख्यमन्त्रीको सचिवालय

मकवानपुर - वाग्मती प्रदेश सरकारको कोरोना रोकथामसँगै आगामी आव २०७७/बजेटका बिषयमा छलफल सुरु गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार हेटौंडामा बसेको बैठकले बजेटबारे प्रारम्भीक छलफल गर्दै नयाँ र परिणाममुखी बजेट बनाउनुपर्नेमा जोड दिएको छ।

कोडिभ–१९ रोग रोकथाम, नियन्त्रण र उपचारसँगै बजेटको तयारी गर्न मन्त्रालयहरुका मन्त्री एवं सचिवलाई मुख्यमन्त्री पौडेलले निर्देशन समेत दिएका छन्। ‘जति संकट आएपनि आन्तरिक रुपमा आगामी बजेटबारे छलफल र तयारी गर्न केही समस्या हुँदैन,’ उनले भने।

‘अहिलेको समयमा कार्यालयहरु बन्द गर्ने होइन,’ उनले थपे, ‘कार्यालय भित्र बसेर काम गर्ने हो, जिम्मेवारी धेरै छन्, काम गरौं काममा जुटौं।’ गत आवहरुमा बनाएका बजेटहरुको समिक्षा गर्नुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले परम्परागत बजेटको श्रृंखलालाई तोडेर समयअनुकुल प्रतिफल दिने बजेट बनाउँनुपर्नेमा जोड दिए।

‘हामी हरेक कुरामा परिवर्तन गर्छौ भनेर निर्वाचित भएर आएका थियौ,’ मुख्यमन्त्री पौडेलले भने, ‘अब हामीले कामहरुको गति बढाउनुपर्छ, कुरा मात्र हैन अब काम र बजेट पनि नयाँ देखाउनुपर्छ, त्यसका लागि सरकारले सबै प्रयास गर्नुपर्छ।’

बजेटलाई बजेटको रुपमा मात्र नबुझी जनता, प्रदेश र देशकै आर्थिक विकासमा छर्लाङ्ग मार्ने अस्त्रको रुपमा ल्याउनुपर्नेमा उनको जोड छ। ‘बजेटलाई कामकाजी मात्र हैन, प्रभावकारी र उत्पादनशील बनाउँदै समृद्ध प्रदेश बनाउन उपयुक्त मोडेल तयार गर्नुपर्छ,’ उनले भने, ‘समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन बजेट सहयोगी हुनैपर्छ।’

सामान्य जनतालाई फाईदा पुग्ने गरी प्रदेश सरकारको बजेट ल्याउनुपर्ने भन्दै उनले सरकारको लक्ष्य समाजवाद उन्मुख बजेट रहेको दाबी गरे। ‘हामीले चुनावमा जनतालाई जे गछौं भनेका थियौं त्यो अनुसार बजेट बनाउन ध्यान दिऊ,’ उनले भने, ‘पार्टीको घोषणा पत्र, आवधिक योजना, गत आवको बजेट र कार्यान्वयनलाई अध्ययन गरी जनमुखी बजेट बनाउनुपर्छ।’

बजेटमा आर्थिक वृद्धि र रोजगारीलाई विशेष ध्यान दिन आग्रह गर्दै मुख्यमन्त्री पौडेलले शिक्षा, स्वास्थ्य र खानेपानीलाई उच्च प्राथमिकता दिएर योजना बनाउन पनि मन्त्रीहरुलाई सुझाव दिए। ‘स–साना योजनाहरुमा पैसा छरेर देशमा परिवर्तन र जनताले अनुभुत गर्न सक्दैनन्,’ उनले भने, ‘गेम चेन्जर योजना छनोट गरौं, लगानी उत्पादनसँग जोडौ, आधारभुत आवश्यकतालाई जोड दिने गरि बजेट बनाऔं।’

कृषि क्षेत्रको विकास र आत्मनिर्भरका योजनालाई प्राथमिकता दिन आग्रह गर्दै उनले कृषि, शिक्षा लगायतका क्षेत्रमा अनुदानलाई कटौटी गरेर बिना ब्याजमा ऋण दिनेगरी बजेट ल्याउनुपर्ने उनको भनाई छ। बजेट अघि प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम ल्याउनुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले सबै मन्त्रालयलाई दुबैको तयारी थाल्न निर्देशन पनि दिए।

प्रकाशित: २५ चैत्र २०७६ ०४:३० मंगलबार

वाग्मती_प्रदेश बजेट