राजनीति

धार्चुलामा रहेका नेपाली ल्याउन सर्वोच्चमा रिट

काठमाण्डौं- भारतको धार्चुलामा रोकिएका सात सयभन्दा बढी नेपालीलाई नेपाल ल्याउन सरकारको नाममा आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

महाकाली नदी पारी रहेका नेपाली जनतालाई नेपाल ल्याउन आदेशको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको हो। उनीहरु नेपालको दार्चुला जिल्लामा ल्याउन सरकारलाई आदेश गर्न माग गरिएको छ।

अधिवक्ता मनीषकुमार श्रेष्ठल समेतका ६ जना कानून व्यवसायीद्धारा दायर भएको सो रिटमा नेपालीहरु जुनसुकै स्थानमा रहेका भएतापनि ल्याएर उनीहरुलाई आफ्नो देशमा उपचार एवं बॉच्न पाउने अधिकारको व्यवस्था गर्न माग गरिएको छ।

संविधानको धारा ५ मा नेपालीको हक हितको रक्षा गर्ने जिम्मा सरकारको भएकोले उनीहरुलाई नेपालमा ल्याई क्वारेन्टाइनमा राख्ने वा आइसोलेशनमा राख्ने व्यवस्था गर्न समेत माग गरिएको छ।

महाकाली नदी पारी धार्चुलामा सात सय भन्दा माथिको संख्यामा नेपालभित्र छिर्न नदिइदा संविधानको धारा १६ (१), १७ १८, ३५ को उल्लंघन भई देश निकाला विरुद्धको संवैधानिक अधिकारको हनन भएको दावी सहित सो रिट दायर भएको हो।

प्रकाशित: १९ चैत्र २०७६ ११:२६ बुधबार

कोरोना_भाइरस नेपाली सिमाना अदालत