राजनीति

भोलिदेखि देशभर पूर्ण लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौं –  सरकारले देशभर पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि  एक साताका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो। 

समितिले आन्तरिक उडानमा समेत रोक लगाएको छ। सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ, भने अत्यावश्यकबाहेक सरकारी कर्मचारीलाई बिदासमेत दिने निर्णय गरेको हो।

अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक सवारी वा निजी सवारी साधनलाई पनि रोक लगाइएको छ।

औषधि उपचार, खाद्य बस्तु खरिद जस्ता अत्यावस्यक काममा बाहेक कुनै व्यक्ति घरबाट बाहिर ननिस्कन भनिएको छ।

समितिले औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, ईन्धन उत्पाद गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा  काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिन व्यवस्था मिलाउने निर्णय गरेको छ । 

 

सरकार कोभिड–१९ नियन्त्रण