राजनीति

नेपालगन्ज नाका एक साताका लागि बन्द

नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका। तस्बिर:नागरिक

नेपालगन्ज - कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता स्वरुप नेपालगन्जस्थित नेपाल–भारत सीमानाका बन्द गरिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले आइतबार(आज) बिहान ११ बजेबाट उक्त नाका एक साताका लागि बन्द गरिएको जानकारी दिए। ‘अबको एक साताको लागि नेपालगन्ज–रुपैडिहा नाका बन्द भयो,’ उनले नागरिकसँग टेलिफोनमा भने ‘एक हप्तासम्म यो नाकाबाट कुनै पनि आवत–जावत गर्न पाइदैन।’

भारतमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सीमासँग जोडिएका जिल्ला उच्च जोखिममा परेको भन्दै आम सर्बसाधारणले नाका बन्द गर्नुपर्ने आवाज उठाउँदै आएका थिए। सरकारको निर्देशन बमोजिम नाका बन्द गर्नुपरेको प्रजिअ खड्काले प्रष्ट्याए। भारतको विभिन्न प्रदेशमा कोरोनाको संक्रमण बढ्दै गएपछि रोजगारी र औषधी उपचार गर्न गएका नेपालीहरु नेपालगन्ज नाकाबाट ठुलो संख्यामा फर्किएका छन्। त्यसरी घर फर्किने नेपालीसँगै भारतीय नागरिक पनि नेपाल आएका छन्।

अत्यावश्यक बाहेकका सम्पूर्ण ब्यवसाय बन्द
कोरोना भाइरसको संक्रमण फैलिन नदिन जिल्लामा उच्च सर्तकता अपनाइएको स्थानीय प्रशासनले जनाएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षमा बसेको जिल्ला स्तरीय ‘टास्क फोर्स’ को बैठकले खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेक जिल्लाका सम्पूर्ण पसल, ब्यवसाय बन्द गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आइतबार नेपालगन्ज लगायतका बजारहरु बन्द गरिएको छ। औषधी पसल तथा खाद्यान्न सामानका पसल बाहेक प्रायः जसो बन्द रहेको प्रहरीले जनाएको छ। ‘नेपाल सरकारको निर्णय बमोजिम हामीले अत्यावश्यक सेवा बाहेक सबै बन्द गर्न लगाएका हौं,’ प्रजिअ खड्काले भने ‘बजार बन्द गर्न हामीले अनुरोध गरेका छौं, बजार बन्द भए÷नभएको कुरा फ्लोअप पनि गरिरहेका छौं।’

बैठकले नेपालगन्जस्थित लायन्स डेन्टल अस्पतालमा ४० बेडको आइसुलेसन कक्ष स्थापना गर्ने पनि निर्णय गरेको छ। नेपालगन्ज उपमहानगरपालिकाको वडा स्तरमा क्वारेन्टाइनका लागि स्थानीय तहलाई अनुरोध गर्ने, सेल्फ आइसुलेसनका लागि आम नागरिकलाई आब्हान गर्ने, कोरोनाविरुद्ध राज्यले गरेको निर्णय कार्यान्वयनका लागि कडाईका साथ प्रस्तुत हुने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए। ‘प्रदेश सरकारले बाँकेको खजुरामा ४० बेडको आइसुलेशन स्थापना गर्ने निर्णय यसअघि नै गरिसकेको छ, त्यो भिन्नै प्रकृतीको हुनेछ, यो गम्भिर खालका बिरामीका लागि हो,’ उनले भने ‘नेपालगन्जको लायन्स डेन्टल अस्पतालमा अर्को ४० बेडको छुट्टै आइसुलेशन अस्पताल बनाउने निर्णय गरेका छौं, हामी साधन, स्रोत र क्षमताले भ्याएसम्म छिटो तयार गर्नेछौं।’

प्रकाशित: ९ चैत्र २०७६ ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App