राजनीति

मन्त्री भट्टद्वारा सचिव खरालमाथि धम्की

कैलाली - सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले आफ्नै मन्त्रालयका सचिव डा. दीपककुमार खराललाई ज्यान मार्ने धम्की दिएकी छन्। मन्त्री भट्टले आफूले भनेअनुसार काम नगरेको भन्दै सचिव खराललाई ज्यान मार्ने धम्की दिएको जनाइएको छ। आफू असुरक्षित भएको भन्दै सचिव खरालले सुरक्षाको माग गर्दै प्रदेश निमित्त सचिव किशोर चौधरीलाई निवेदन दिएका छन्।

मन्त्री भट्टले हरेक निर्णय नीतिनियम मिचेर गर्ने गरेको सचिव खरालले दाबी गरे। ‘मैले नीतिनियममै रहेर काम गर्नुपर्नेभन्दा मन्त्रीज्यूले पेलेरै काम गर्दै आउनु भएको थियो,’ उनले भने। आफूले गलत काम नगर्ने भनेपछि मन्त्रीले कार्यकक्षमै बोलाएर दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको उनको भनाइ छ। ‘मलाई मन्त्रीज्यूले कार्यकक्षमा बोलाएर आफूले भनेको काम किन नगरेको भन्दै दुव्र्यवहार गर्नुभयो,’ उनले भने, ‘त्यसपछि औंला ठड्याएरै जुनसुकै बेला जे पनि हुन सक्छ भन्दै धम्क्याउनुभयो।’

मन्त्रीले धम्क्याएपछि ज्यानको असुरक्षा बढेको भन्दै सुदूरपश्चिम प्रदेशका निमित्त प्रदेश सचिवसमक्ष सुरक्षाको माग गर्दै निवेदन दिएको उनले बताए। ‘मैले निमित्त प्रदेश सचिवसमक्ष निवेदन पेस गरेको छु,’ उनले भने, ‘त्यसको बोधार्थ प्रजिअलाई पनि दिएको छु।’ कैलालीका प्रजिअ यज्ञराज बोहराले वन मन्त्रालयका सचिव खरालले जिल्ला प्रशासन कार्यालयमा असुरक्षा बढेको भन्दै बोधार्थ पत्र पठाएको सपष्ट पारे। मन्त्री भट्टले आफूले सचिवलाई कुनै किसिमको धम्की नदिएको बताएकी छन्। उनले भनिन्, ‘म किन सचिवलाई धम्की दिउँला र ?’

प्रकाशित: ९ चैत्र २०७६ ०३:४२ आइतबार

सुदूरपश्चिम माया_भट्ट धम्की