राजनीति

संकटसँग जुध्न सात कार्यदल गठन

काठमाडौं – सरकारले कोरोना संक्रमण हुन नदिन विभिन्न सातवटा कार्यदल गठन गरेको छ। उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको उच्चस्तरीय समितिको शनिबार राति बसेको बैठकले विभिन्न सातवटा कार्यदल गठन गर्दै कोरोनाविरुद्ध सक्रियता बढाएको हो।

बैठकले स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्नेगरी स्वास्थ्य मन्त्रालयको संयोजनमा समिति गठन गरेको छ। देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्र मन्त्रालयमार्फत काम अघि बढाउने जानकारी अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले दिए। मन्त्री खतिवडाका अनुसार आपूर्ति अनुगमन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा र राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषिमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ। मन्त्री खतिवडाले बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने जानकारी दिए।

यसैगरी क्वारेन्टाइन केन्द्रबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा, निर्देशन कार्यान्वयन अवस्था अनुगमन गर्न रक्षा मन्त्रालयको संयोजकत्वमा र निजी तथा सरकारी सञ्चारमाध्यमसँग समन्वयका लागि सञ्चार मन्त्रालयको संयोजकत्वमा समिति गठन गरिएको छ। भारतसँगका सीमा नाका बन्द गर्ने विषयमा पनि कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको जानकारी अर्थमन्त्री खतिवडा दिए।

प्रकाशित: ९ चैत्र २०७६ ०२:३० आइतबार

कार्यदल काेराेना_भाइरस