राजनीति

कोरोना भाइरसप्रति सावधानी अपनाउन नेकपाको अपिल

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकमा मास्क लगाएर सहभागी प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत। तस्बिर सौजन्य: प्रधानमन्त्रीको सचिवालय

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सावधानी अपनाउन सरकारलाई आग्रह गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएकोमा चिकित्सक टोली र मिर्गाैलादातालाई धन्यवाद पनि दिइएको छ। प्रधानमन्त्री ओली अस्पतालमा भर्ना हुनुअघि नेकपाको सचिवालय बैठक बसेको थियो। सो बैठकले ओलीको स्वास्थ्य लाभको कामना गरेको थियो। बुधबार बसेको बैठकले कोरोना संक्रमण हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी उपप्रधानमन्त्री तथा रक्षामन्त्री नेतृत्वको उच्चस्तरीय समितिद्वारा गरिएको एसइई परीक्षा रोक्नेलगायत अन्य महत्वपूर्ण निर्णयहरूप्रति सरकारको प्रशंसासमेत गरेको छ।

अघिल्लो सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन नभएको अवस्थामा बसेको बैठक राजनीतिक विषयमा प्रवेश गरेन। अघिल्लो बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय गरेको थियो। त्यसैगरी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा अध्ययन गर्न बनेको कार्यदलले बुझाएको प्रतिवेदनबारे पनि कुनै छलफल भएको छैन। राष्ट्रियसभामा गौतमको मनोनयनबारे प्रधानमन्त्री ओली नै असन्तुष्ट थिए। राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनयन हुने एक सिट खाली छ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले कोरोना भाइरस संक्रमण व्यवस्थापनका लागि आपतकालीन कोष निर्माण गर्न सरकारसँग माग गरेका छन्। ‘विकास बजेटको २० प्रतिशत अंश मात्र खर्च हुने प्रक्षेपण रहेकोमा कोरोना भाइरस संक्रमण व्यवस्थापनका लागि आपतकालीन कोष निर्माण गर्न ठूलै रकम छुट्याउन सरकारको ध्यानाकर्षण गराउँछु,’ बुधबार ट्विट गर्दै राप्रपाका अध्यक्ष राणाले भनेका छन्, ‘विश्वव्यापी अनुभवबाट पाठ सिक्दै समयमै जिम्मेवारीपूर्वक कडा कदम अत्यावश्यक भइसकेको छ।’

प्रकाशित: ६ चैत्र २०७६ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App