राजनीति

वैशाख १८ सम्म सिनेमा हल, जीम र डान्स बार बन्द गर्ने सरकारको निर्णय

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले सिनेमा हल, खेलस्थल, जिम, नाइट डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको संयोजकत्वमा रहेको कोभिड–१९ जोखिम नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समन्वय समितिले बुधबार वैशाख १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।

समितिले निर्णय गरेको २ नं. बुँदामा उल्लेख गरिएको छ ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जिम, हेल्थ क्लब, मनोरञ्जन स्थान, म्युजियम, स्वीमिङ पुल, डान्स बार तथा क्लब आदिलाई  ३० अप्रिल २०२० गते सम्म बन्द गर्ने।’

यसको अनुगमानका लागि गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्यन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जिम्मा दिइने निर्णयमा उल्लेख गरिएको छ। 

त्यस्तै निर्णय गरेको ३ नं. बुँदामा भनिएको छ, ‘ अत्यावश्यक काम बाहेक आवतजावत, हिडडुल नगर्ने। सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टीप्यालेसन, मन्दिर, गुम्बा,मस्जिद, चर्च जस्ता धार्मिक जस्ता धार्मिक र सार्वजनिक स्थलरूमा २५ जना भन्दा बढी मानिसरू भेला हुन बन्द गर्ने।’ 

जसको अनुगमन गर्न  गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय जिम्मा दिइएको छ।

प्रकाशित: ५ चैत्र २०७६ १०:५९ बुधबार

कोरोना_भाइरस सरकार सिनेमा_हल